भद्रपुरमा मैथिल समाजले मनायो होली मिलन समारोह
मैथिल समाज झापा र मैथिल मधेशी युवा समाजले भद्रपुरमा होली मिलन समारोह मनाएका छन् । समाजले भद्रपुर–६ स्थित आफ्नै नानिर्मित भवनमा मंगलबार साँझ होली मिलन समारोह मनाएका हुन् ।
समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए । समाजका सचिव सुशील कर्णले सञ्चालन र निवर्तमान अध्यक्ष बलदेव शाहले स्वागत गरेको समारोहमा शुभकामना व्यत्तः गर्दै नगरप्रमुख पोखरेलले होली पर्वले समाजमा भाइचारा एवम् सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै संयमित भई सभ्य ढङ्गबाट होली मनाउन नगरवासीलाई आग्रह गरे ।
समारोहमा पूर्व नगरप्रमुख एवम् मैथिल समाजका अगुवा भारतेन्द्कुमार मल्लिक, भद्रपुर नगरपालिका वडा नं ६ का अध्यक्ष रतिया राजवंशी, वडा नं। ५ का वडा सदस्य जेष्ठमल ठाकुर, डा। पीताम्बर ठाकुरलगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा उक–अर्काप्रति रंग दलेर शुभकामना आदान–प्रदान गरिएको थियो ।
सोही अवसरमा समाजले मैथिल समुदायबाट गत वर्ष एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने अनुज कर्ण र सृष्टि शाहलाई सम्मान गरेको थियो । उनीहरूलाई प्रमुख अतिथि नगरप्रमुख पोखरेलले सम्मान पत्र प्रदान गरेका थिए ।
विगतमा स्थानीय मोहपाल धर्मशालामा कार्यक्रम आयोजना गर्दै आएको समाजले यस वर्ष आफ्नै भवनमा समारोह आयोजना गरेको हो । भद्रपुर नगरपालिका र समुदायबाट सहयोग सङ्कलन गरी समाजको स्वामित्वमा रहेको ११ धुर जग्गामा करिब ३१ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको अध्यक्ष झाले जानकारी दिए । गेटलगायतका काम बाँकी नै रहेकोले अझै ७–८ लाख रुपैयाँ आवश्यक रहेको बताउँदै अध्यक्ष झाले त्यसका लागि वडा, नगरपालिका र समाजका अग्रजहरूसँग सहयोग मागिएको जानकारी दिए ।