विराट गोल्डकप : मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा
विभागीय टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ एफएलाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।
जितको लागि आर्मीका निरज चौधरी नायक बने। उनले पहिलो हाफको ३७ औं मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णायक बन्यो। पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए।
पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ एफएले बराबारीमा ल्याउन निकै संघर्ष गर्यो। तर, सफल हुन सकेन। दोस्रो हाफपछि आक्रमक खेल पस्किएको मोरङ एफए खेल बराबरीमा ल्याउन आक्रामक खेल खेले पनि सफल हुन सकेन। दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा मोरङ एफए पहिलो हाफमा १–० ले पछि पर्यो। खेलको पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो।
घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो। बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबबीच हुनेछ। फागुन २८ गते फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा बिदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको छ।
प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन्। गोल्डकपमा हरेक दिनका म्यान अफ दी म्याच खेलाडीलाई पनि नगद ११ हजारले पुरस्कृत गरिनेछ।