२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुर झापा गोल्डकपको फाइनल आज : आयोजक भद्रपुर र झापा ११ बीच को बन्ला च्याम्पियन ?

sajilo news
पार्थ मण्डल
२०८१ फाल्गुन १६ गते , शुक्रबार
भद्रपुर झापा गोल्डकपको फाइनल आज : आयोजक भद्रपुर र झापा ११ बीच को बन्ला च्याम्पियन ?

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्स र झापा ११ एफसी भिड्दैछ । दुवै झापाली टोली उपाधि रक्षाका लागि आज दिउँसो ३ बजे भद्रपुरस्थित मेची रंगशालाको मैदान उत्रिदैछ । भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस क्लब, नेपाल पुलिस क्लब र बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने, झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड एफसी र भुटानको डाँगा युनाइटेडलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।  दुवै टिमका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् । 

भद्रपुर झापा गोल्डकप आयोजक समितिले बिहीबार एयरपोर्ट होटेलमा आयोजना गरेको प्रि म्याच कन्फ्रेसनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । झापा ११ बी डिभिजन लिगको तयारी गरिरहेकोका अवस्थामा यस गोल्डकपमा ए डिभिजन टोलीहरूलाई हराएकोले खेलाडीहरूमा आत्मविश्वास बढेको छ । खेलाडीको यही आत्मविश्वासका साथ उपाधि जित्नेमा हामी ढुक्क रहेको झापा ११ का प्रशिक्षक अङ्गुरकुमार खाडगीले बताए । यस्तो पहिलो पटक भएको हो । दुवै झापाली टोली फाइनलमा भिड्दैछ । झापाली दर्शकको समर्थन दुवै टिमलाई हुने भएकोले मैदानमा खेल रोमाञ्चक हुने उनको भनाई छ । पछिल्लो समयमा झापा ११ का खेलाडीको टिम वर्क राम्रो रहेकोले फाइनल जित्ने गरी मैदानमा उत्रिने झापाका कप्तान पेमा तामाङको भनाई छ । 

त्यस्तै आयोजकको टिम भद्रपुरले पनि दुई विदेशी र एउटा ए डिभिजन टोलीलाई हराएर फाइनलमा प्रवेश गरेकोले उपाधि कब्जा गर्ने रणीनित बनाएर मैदान उत्रिने भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले बताए । घरेलु टिम र घरेलु दर्शकको समर्थन रहेकोले हामीले त्यही बमोजिम रणनीति बनाएर प्रदर्शन गर्ने उनको भनाई छ । उपाधि उचाल्नका लागि खेलाडीहरू उत्साहित छन् र सोही बमोजिम प्रदर्शनमा उत्रिने भद्रपुरका कप्तान आशिष चापागाईँले बताए । 

सौर्य एअर ओम साई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत फाइनलमा भिड्ने दुवै झापाली टोलीले इतिहास रचेको बताउँदै गोल्डकपका दीपेश ढकालले, दुवै टोलीलाई जितका लागि अग्रिम बधाई दिएका छन् । उनले यो गोल्डकप सफलता पूर्व सम्पन्न गराउने पत्रकारसहित सबैलाई धन्यवाद दिएका छन् । गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दीपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका गरी १० टिमले सहभागिता जनाएका थिए । 

 

 

सम्बन्धित समाचार