२०८२ बैशाख ९ गते , मंगलबार

केआइआइटीबाट फर्किएका विद्यार्थी भन्छन्, ‘कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

sajilo news
रासस
२०८१ फाल्गुन ९ गते , शुक्रबार
केआइआइटीबाट फर्किएका विद्यार्थी भन्छन्, ‘कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

वीरगञ्ज  । भारतको ओडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘बीटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार भुल्न नसकेको बताए।

केआइआइटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको उनले उल्लेख गरे। ‘प्रकृतिको घटना हुनुअगावै सोही दिन त्यहाँ भारतीय र्‍यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो। त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ’, धनुषाको विदेही नगरपालिका–३ स्थायी घर भएका झाले भने, ‘नेपाली विद्यार्थीले प्रकृतिको घटनामा कुनै कमीकमजोरी नहोस् भनेर कलेज प्रशासनलाई अनुरोध गर्‍यौँ तर कलेज प्रशासनले नसुनेपछि घटनाको प्रमाण नष्ट नहोस् भनेर दबाव दिने योजनासहित शान्तपूर्वक रूपमा आन्दोलन पनि गर्‍यौँ।’

तर केआइआइटीका रजिष्ट्रारले नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न आदेश दिए। नेपाली विद्यार्थीलाई ‘बाउन्सर’ लगाएर अपमानजनक ढङ्गले निकाल्ने प्रयास गरियो। उनले भने, ‘कुटपिटबाट हाम्रै कतिपय साथीभाइ घाइते बन्नुभयो।’

विद्यार्थी झाले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई बसमार्फत कुर्दह, पुरी भुवनेश्वरलगायत फरक–फरक रेल्वे स्टेशनमा छाडेको दाबी गरे। ‘अधिकांश नेपाली विद्यार्थीसँग नेपाल फर्किनका लागि आवश्यक पैसा थिएन’, उनले भने, ‘म पनि दाइको साथीसँग सापटी मागेर फिर्ता आएको हुँ।’​

केआइआइटीमा बिबिए दोस्रो सेमेष्टरमा अध्ययनरत नेपाली विद्यार्थी साहिरकुमार कलवार पनि कलेज प्रशासनले एक्कासी छात्रावास खाली गर्नुपर्ने सूचना दिएपछि समस्याका बीचमा वीरगञ्ज फर्किएको दुखेसो पोखे। ‘म त्यहाँ अध्ययन गर्न गएको सात महिना पनि भएको छैन। भर्खंरै दोस्रो सेमेष्टरमा अध्ययन गर्दै थिएँ’, उनले भने, ‘एक्कासी होस्टेल छाड भनेपछि समस्या आयो। कहाँ जाऊँ के खाऊँ भन्ने चिन्ताले सतायो। साथीभाइसँग पैसा सापटी मागेर कैयौँपटक रेल र बस परिवर्तन गरेर बल्लबल्ल फ्रेबुअरी १९ तारिखमा घर आइपुगेँ।’​  कलवारले निकै सास्ती खेप्दै वीरगञ्ज फर्किएको बताए।

केआइआइटीबाट फ्रेबुअरी १८ मा घर फर्किएका बाराका अमन कुशवाहले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई स्वदेश फर्कन पनि पर्याप्त समय नदिएको गुनासो गरे। ‘नेपाली विद्यार्थी निकै झन्झट व्यहोरेर स्वदेश फर्किएका छौँ’, उनले भने, ‘हामीले भुवनेश्वरबाट बस रिजर्भ गरेर वीरगञ्ज फर्किएका हौँ।’

केआइआइटीमा अध्ययरत गर्दै आइरहेका विद्यार्थी वीरगञ्जमा फर्किएपछि आज बिहान वीरगञ्जको घण्टाघरचोकमा प्रदर्शनी गरेका छन्। मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न पाउने वातावरण सृजना गर्नका लागि विद्यार्थीले नेपाल सरकारसँग माग गरेका छन्। प्रकृतिलाई मर्न बाध्य पार्ने युवकलाई कारबाही हुनुपर्ने उनीहरूले माग राखेका छन्।

केआइआइटीमा कार्यरत रहेर नेपालको बजेटसँग सम्बन्धित छुद्र टिप्पणी गर्ने दुई महिला कर्मचारीलाई आजीवन कलेजबाट निष्काशन गर्नुपर्ने, नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई आवश्यक कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबार बेलुकासम्म १५९ विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किएको जानकारी दिए। सहायक प्रजिअ कार्कीका अनुसार फर्किएकामध्ये एक १२७ छात्र र ३२ जना छात्रा छन्। केआइआइटीमा करिब एक हजार पाँच सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।

सम्बन्धित समाचार