अमेरिकामा फेरि विमान दुर्घटना, घर र सवारीसाधनमा आगलागी

वासिङटन डिसी । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा शनिबार बिहान विमान दुर्घटनाग्रस्त भएको छ। समाचार एजेन्सी एपीका अनुसार फिलाडेल्फियाबाट मिसौरी जाँदै गरेको विमानमा ६ जना सवार थिए। यसमा दुई डाक्टर, दुई पाइलट, एक बिरामी र एक परिवारका सदस्य रहेको जनाइएको छ। दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ।
अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार लियरजेट ५५ नामको विमानले स्थानीय समय अनुसार साँझ ६:३० बजे उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको थियो। त्यसको ३० सेकेन्ड पछि ६.४ किलोमिटर (४ माइल) टाढा दुर्घटनाग्रस्त भयो।
एएफपीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विमान आवासीय क्षेत्रका घरहरूमाथि खसेको र त्यस क्षेत्रका धेरै भवनहरूमा आगो लागेको जनाएको छ। हाल उद्धार टोलीले आगो नियन्त्रणमा लिएको छ।
विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएको बीबीसी समाचारमा उल्लेख छ। विमान दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन।