२०८३ बैशाख २३ गते , बुधबार

दोस्रो बर्खा स्मृति पुरुष क्रिकेटको तयारी पूरा

sajilo news
झापा
२०८१ माघ ९ गते , बुधबार
दोस्रो बर्खा स्मृति पुरुष क्रिकेटको तयारी पूरा

बिर्तामोड । झापाको बुद्धशान्तिमा हुने दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईँका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको काम पूरा भएको प्रसाईँले जानकारी दिए ।यही माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताका लागि आयोजकले यसअघि नै खेल तालिका सार्वजनिक गरिसकेको छ ।

दोस्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको अध्यक्ष प्रसाईँले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईँले बताए ।

खेलको प्लेयर अफ द म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ द म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार पुरस्कार दिइनेछ ।खेल तालिका अनुसार प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।
त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।

माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।
यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो ।
यसैबीच, प्रतियोगिताको दौरान भारतीय महिला टिम र नेपाली महिला टिमबीच दुई खेल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार