झापा गोल्डकपविरुद्ध अख्तियारमा मुद्दा, वरिष्ठ उपाध्यक्षले लगाए अध्यक्षमाथि रकम अपचलनको आरोप
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले अध्यक्ष विनोद बस्नेतमाथि गम्भीर आरोप लगाएका छन् । आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका कार्कीले अध्यक्ष बस्नेतले रकम अपचलन गरेको आरोप लगाएका हुन् ।वरिष्ठ उपाध्यक्ष कार्कीले आज एक विज्ञप्ति जारी गरी झापा गोल्डकपका लागि स्वदेश तथा विदेशबाट फुटबलप्रेमीहरुले अथाह साथ र माया दिएको तर अध्यक्ष बस्नेतले त्यसलाई अपारदर्शी बनाएको उनले आरोप लगाएका छन् ।
कार्कीले सो अपारदर्शीताका कारण अख्तियारमा मुद्दा परेको र सो विषयसमेत बोर्डमा लुकाएर राखेको पाइएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कार्कीले झापा गोल्डकपलाई दाताहरूले दिएको सहयोग रकम हिसाबमा नदेखाएको, गोल्डकपलाई अपारदर्शी बनाएको, अत्यधिक खर्च देखाएर हिसाब मिलान गरेको जस्ता गम्भीर आरोप लगाएका छन् ।
झापा गोल्डकपको इतिहासलाई सिद्ध्याउन अध्यक्ष बस्नेत जिम्मेवार रहेको भन्दै कार्कीले यसको जिम्मेवारी अध्यक्ष बस्नेतले लिनु पर्ने बताएका छन् । यता अध्यक्ष बस्नेतले आफूले गोल्डकप सम्पन्न गराउन अहोरात्र खटेको नदेखेको तर कपोकल्पित भ्रामक हल्ला फैल्याएर आफ्नो मानहानि गरेको बताएका छन् । उनले अख्तियारमा उजुरी परेका विषय आफूलाई जानकारी नभएको बताउँदै कार्की विरुद्ध मानहानिमा कानुनी उपचारमा जाने बताए ।
उम्मेदवारी फिर्ता
झापा गोल्डकपको सुरुवातदेखि ६ वटा संस्करण सम्पन्न गराउन उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेको र आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएको तर झापा गोल्डकपको विरुद्धमा अख्तियारमा मुद्दा परेको विषय भर्खरै आफूले जानकारी पाएकाले निर्वाचन प्रक्रियामा आफू सहभागी नहुने कार्कीले जनाएका छन् ।
