२०८१ फाल्गुन ४ गते , आईतबार

ओस्कार अवार्ड प्रतिस्पर्धामा परे यी १५ विदेशी प्रभावशाली चलचित्र

sajilo news
एजेन्सी
२०८१ पौष २४ गते , बुधबार
ओस्कार अवार्ड प्रतिस्पर्धामा परे यी १५ विदेशी प्रभावशाली चलचित्र

आगामी ३ मार्च आईतबार अमेरिकाको लस एञ्जलसमा यस पटकको ९७ औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) आयोजना हुँदैछ । गत साता यो अवार्डको लागि अमेरिकन तथा विदेशी चलचित्र र बृत्तचित्र तथा प्राविधिकको पहिलो चरणको मनोनयन सुची सार्वजनिक गरियो । यो मनोनयन सुची आएपछि फाईनल चरणको लागि अहिले मतदानमा प्रतिस्पर्धा चलिरहेको छ ।

अहिले पहिलो चरणमा चयन भएका चलचित्र, बृत्तचित्र तथा प्राविधिकहरु मतदानकै आधारमा अन्तिम चरण अर्थात उत्कृष्ट पाँचमा चयन हुनेछन् । त्यसैले अहिले उत्कृष्ट १५ बाट उत्कृष्ट ५ को अन्तिम चरणमा पुग्न सम्बन्धित चलचित्र र प्राविधिकहरुबीच मतदानमा चर्को प्रतिस्पर्धा भईरहेको छ ।

बिगत झैं यसपटक अमेरिकन भन्दा बिदेशी चलचित्रहरुबीच मतदानमा चर्को प्रतिस्पर्धा भईरहेको आयोजक टिमको कथन छ । ओस्कारमा बिदेशी चलचित्रहरुलाई पनि समावेश गराउने उदेश्यले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’को अवार्ड समावेश गराईएपछि यो विधामा चर्को प्रतिस्पर्धा हुने गरेको हो ।

यस्तै बिगत झै यसवर्ष पनि ओस्कारको ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ वर्गमा विश्वका ८५ देशका चलचित्र समावेश भएको ओस्कारको आयोजक टिमले जनाएको छ । जसमा नेपालबाट यसपटक मिनबहादुर भामको चलचित्र सम्बाला यो अवार्डको लागि पठाईएको थियो । तर नेपाली चलचित्र सम्बाला पहिलो चरणको प्रतिस्पर्धाबाटै बाहिरिएको छ । यस्तै भारतबाट यही अवार्डको लागि आमिर खान प्रोडक्सनको चलचित्र लापता लेडी ओस्कारमा पठाईएको थियो । नेपाल जस्तै भारत पनि यसपटक पहिलो चरणबाटै ओस्कार अवार्डमा बाहिरिएको छ ।

‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्डको लागि यसपटक सहभागी भएका ८५ देशका चलचित्र मध्य पहिलो चरणमा १५ देशका चलचित्रहरु छानिएका छन् । यी निकै प्रभावशाली चलचित्र छन् । १५ देशका एक से एक चलचित्रबीच अहिले फाईनल चरणमा प्रवेशको लागि प्रतिस्पर्धा भईरहेको छ ।

ओस्कारको ९७ औं सृँखलाको बिदेशी चलचित्र अवार्डको प्रतिस्पर्धामा ब्राजिलबाट चलचित्र ‘आई एम स्टिल हेयर’ परहेको छ । सन १९७० मा ब्राजिलको राजनीतिमा आएको उतार चढाबका क्रममा त्यहाँ सैनिकले गरेको ज्यादतीको कथामा केन्द्रित यो ऐतिहाँसिक जनरामा बनेको चलचित्र हो ।

यस्तै यो प्रतिस्पर्धामा क्यानडाबाट चलचित्र ‘युनिभर्सल ल्याङग्वेज’ र चेक रिपब्लिकबाट चलचित्र ‘वेभ’ परेको छ । क्यानडाको चलचित्र ‘युनिभर्सल ल्याङग्वेज’मा केही बहुलठ्ठी साथीहरुको सँघर्षको कथा प्रस्तुत गरिएको छ । यस्तै चेक रिपब्लिकको चलचित्र वेभमा चेकोस्लाभिया देश कसरी राजनीतिक चलखेलले फुटेर चेक र स्लोभाकियाको रुपमा फरक दुई देश बन्यो भन्ने राजनीतिक सँघर्षमा आधारित छ ।

यसैगरी एक युवतीको सँघर्ष कथामा आधारित डेनमार्कको चलचित्र ‘द गर्ल विथ द निडल’ र फ्रान्सको सांगीतिक थ्रिलर चलचित्र ‘एमिलिया पेरेज’ पनि अहिले यो अवार्डको लागि पहिलो चरणको मनोनयनमा रहेका छन् । यस्तै जर्मनीको ‘द सिड अफ द सेक्रेट’ चलचित्र तेहरानको राजनीतिक उतारचढावमा आधारित रहेको छ । यो पनि ओस्कारको फाईलनमा पुग्ने दाबेदार चलचित्रको रुपमा चर्चामा छ ।

यस्तै ओस्कारको ९७ औं सृँखलाको बिदेशी चलचित्र अवार्डको प्रतिस्पर्धामा उत्कृष्ट १५ को मनोनयनमा परेको चलचित्रमा आईसल्यान्डको चलचित्र ‘टच’, आयरल्यान्डको चलचित्र ‘केनीक्याप’, इटालीको चलचित्र ‘भर्मिलिगो’, लाटभियाको चलचित्र ‘फ्लो’ र बेलायतको चलचित्र ‘सन्तोष’ रहेका छन् । यी सबै फरक जनराको चलचित्र रहेको छ । बेलायती चलचित्र सन्तोषमा भारतीय प्रहरीले बिद्रोहीसँग गरेको सँघर्षको कारुणिक कथा प्रस्तुत गरिएको छ । यता आयरल्यान्डको केनीक्यापमा उत्तरी आयरल्यान्डको एउटा आयरिस हिप हप ब्यान्डको सफलताको कथा प्रस्तुत गरिएको छ । यो सांगीतिक चलचित्र हो ।

यसैगरी बिदेशी चलचित्रको ओस्कार अवार्ड प्रतिस्पर्धामा परेका बाँकी चलचित्रमा नर्वेको चलचित्र ‘अर्मान्ड’, प्यालेस्टाईनको चलचित्र ‘फ्रम ग्राउन्ड जिरो’, सेनेगलको चलचित्र ‘दाहोमी’, थाईल्यान्डको चलचित्र ‘हाउ टु मेक मिलियन्स विफोर ग्रान्डमा डाईज’ रहेका छन् ।

यी चलचित्र मध्य ग्राउन्ड जिरो २२ फरक प्यालेस्टिनी निर्देशकहरूद्वारा निर्देशित एन्थोलजी चलचित्र हो । यसमा इजरायल–हमास युद्धको बीचमा गाजाका जनताको वर्तमान अवस्थाको बारेमा वृत्तचित्र, कथा, एनिमेसन र प्रयोगात्मक फिल्महरू सहित २२ लघु चलचित्रलाई मिश्रण गरेर एउटा समग्र चलचित्र बनाईएको छ । इजरायल र प्यालेस्टाईनबीचको लामो समयदेखिको सँघर्षमा विश्वको ध्यान केन्द्रित छ । जसका कारण यो चलचित्रको पनि अहिले ओस्कारमा निकै चर्चामा रहेको छ ।

यसैगरी थाईल्यान्डको चलचित्र ‘हाउ टु मेक मिलियन्स विफोर ग्रान्डमा डाईज’ पनि त्यत्तिकै रोचक चलचित्र हो । यो हास्यप्रधान चलचित्रमा एक युवाले आफ्नी हजुरआमाको निधन हुनु अघि नै कसरी धनी बन्ने भने बारेमा गरेको रोचक सँघर्षको कथा समेटिएको छ । फरक र रोचक भएका कारण पनि यो चलचित्र ओस्कारमा यसपटक उत्कृष्ट १५ भित्र परेको हो । यी १५ चलचित्रबाट अन्तिम प्रतिस्पर्धाको लागि उत्कृष्ट पाँच चलचित्रको सूची अब यो महिनाको अन्तिममा सार्वजनिक गरिने भएको छ ।

सम्बन्धित समाचार