२०८३ बैशाख २३ गते , बुधबार

कोशीको कमाण्ड सम्हाल्दै डीआइजी अधिकारीले दिए जिल्लाका प्रमुखहरुलाई यस्तो निर्देशन

sajilo news
झापा
२०८१ पौष ६ गते , शनिबार
कोशीको कमाण्ड सम्हाल्दै डीआइजी अधिकारीले दिए जिल्लाका प्रमुखहरुलाई यस्तो निर्देशन

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले सबै प्रहरी अधिकृतहरूले आ–आफ्नो पदीय दायित्व अनुसार अनुशासित र कर्तव्यनिष्ठ भएर त्रृटीरहित ढङ्गबाट कार्य सम्पादन गर्न र आइपर्ने चुनौतीहरूलाई आफ्नो जिम्मेवारीको रुपमा लिएर शान्ति सुरक्षा अभियानमा प्रतिबद्ध रहन निर्देशन दिएका छन् ।

कोशी प्रदेशमा रहेका सबै १४ जिल्लाका प्रहरी प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण रानी, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी तथा तराई क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय (क) का प्रहरी प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।
प्रहरी नायब महानिरीक्षक अधिकारीले सवारी दुर्घटना, साइबर अपराध, लागू औषधको प्रयोग तथा ओसारपसार, ठगी, चोरी तस्करी र अन्य प्रकारका अपराधका घटनाहरूलाई नियन्त्रण र निरुत्साहित गर्न प्रहरीले योजनाबद्ध रुपमा दत्त चित्त भएर लाग्नुपर्ने पनि बताए ।
यसैगरी उनले सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई शिरोधार्य गरेर सकारात्मक सोचलाई आफूलाई समर्पण गरेर समाजका लागि परिचालित हुनुपर्ने बताए ।

उनले कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्न र भए गरेको कार्य प्रगति विवरण समयमै जाहेर गर्न पनि कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । सो अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यसैबिच, प्रहरी नायब महानिरीक्षक अधिकारीले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौँमा सञ्चालन हुने “४२ औँ आई.जी.पी. रनिङ शिल्ड” पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीताका लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै जान लागेका प्रहरी खेलाडीहरूलाई हौसलासहित सफलताको शुभकामना प्रदान गरेका छन् ।

सम्बन्धित समाचार