प्रेस क्लब भद्रपुरद्वारा पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान
प्रेस क्लब भद्रपुरले नेपाल पत्रकार महासंघ झापा र कोशी प्रदेशमा निर्वाचित पदाधिकारी, सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । भद्रपुरस्थित होटेल डेग्लोमा एक कार्यक्रमका बीच प्रेस क्लबले सम्मान गरेको हो ।
मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा कोशी प्रदेशमा निर्वाचित महिला उपाध्यक्ष अम्बिका भण्डारी, प्रदेश सदस्य राजकुमार ओली, झापाका पदाधिकारी र सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै पत्रकार महासंघमा पुस्तान्तरण भएकोमा खुशी व्यक्त गरेका छन् । नयाँ पुस्ताले तथ्यमा आधारित पत्रकारिता मार्फत सञ्जालहरुबाट खुइल्याउने कामलाई चिर्नुपर्ने उनको भनाई छ । नगर प्रमुख पोखरेल भन्छन्, ‘पछिल्लो समय सञ्जाल मार्फत खुइल्याउने काम बढिरहेको छ । यसलाई तपाईँहरूले चिरेर जानुपर्छ ।’ स्थानीय तहको तर्फबाट प्रेस क्लब मार्फत काम गर्न आफूहरू तयार रहेको बताउँदै पोखरेलले निरन्तर सहकार्य गर्दै जाने समेत बताएका छन् ।
बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारिता क्षेत्रमा देखिएको चुनौतीलाई प्रविधिको अधिकतम प्रयोग गर्दै सामना गर्नुपर्ने धारणा राखे । त्यसका लागि पत्रकारहरूलाई प्रविधितर्फ सीपयुक्त बनाउन जरुरी रहेको बताए । उनले स्थानीय सरकारलाई सञ्चार कानुन बनाएर अघि बढ्न सुझाव दिदैं पत्रकारिता क्षेत्रलाई अधिकतम सहयोग गर्न आग्रह गरे । उनले अघिल्लो कार्यकालले गरेका काम र आगामी दिनमा गरिने कामका सन्दर्भमा प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, कोशी प्रदेशको महिला उपाध्यक्ष अम्बिका भण्डारी , प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, अग्रज पत्रकार गोविनचन्द क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अग्रज पत्रकार गोपाल गिरीले गरेका थिए ।