२०८३ असार ५ गते , शुक्रबार

हरि ओम स्माइल्सकी संस्थापक मोनिकाले भनिन्- निरोगी जीवन जिउन योग तथा साधना आवश्यक छ

sajilo news
झापा
२०८१ पौष ३ गते , बुधबार
हरि ओम स्माइल्सकी संस्थापक मोनिकाले भनिन्- निरोगी जीवन जिउन योग तथा साधना आवश्यक छ

झापा । मानिसमा देखा परेका रोग र तनावपूर्ण जीवनलाई समाप्त पार्नेका लागि योग तथा साधना आवश्यक रहेको हरि ओम स्माइल्स भारतकी संस्थापक मोनिका सिंघलले बताएकी छिन् । 
झापाको भद्रपुरमा मंगलबार साँझ सकारात्मक जीवन जिउने विविध कला र क्रियाकलापका बारे प्रवचनसहितको आध्यात्मिक तथा ध्यान शिविरमा बोल्दै चर्चित सामाजिक अभियन्तासमेत रहेकी सिंघलले यस्तो बताएकी हुन् ।
भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त आयोजनामा भएको शिविरमा सिंघलले सहभागीहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्याससहितको निरोगी जीवन जिउने कला सिकाएकी थिइन् । 
नेपालमा पहिलोपटक आफ्नो प्रस्तुति दिन आएकी सिंघलले प्रकृतिप्रदत्त पृथ्वी, जल, वायु आकाश र अग्निका तत्त्वहरूको समुचित उपयोगले स्वस्थ र समृद्ध जीवन जिउन सकिने बताइन् । उनले ध्यानबाट, हाँसोबाट, नियमित व्यायामहरूबाट तनावमुक्त जीवन जिउन सकिने मात्र नभई क्यान्सर लगायत घातक रोगहरूलाई पनि जित्न सकिने उनको दाबी छ । आफ्नो यो अभियानले धेरैलाई असाध्य रोगहरूबाट समेत मुक्त गर्न सफल भएको दाबी गर्दै उनले भनिन्, ‘मानिस तनबाट नभई मनबाट पनि अपाङ्ग भइसकेका छन्, ती समस्याहरूलाई मुस्कान–साधनाको माध्यमबाट सहजै समाधान गर्न सकिन्छ ।’ 
मानिसले आफूभित्रको शक्ति र ऊर्जालाई महसुस गरी आफ्नो जीवनशैलीमा प्रयोग गर्न सकिरहेका छैनन् । ती कुरालाई हरि ओम स्माइल्सले अभियानबाट मानिससम्म पु¥याउन भारत, नेपालसहित विभिन्न देशहरूमा यस्ता शिविरहरू निःशुल्क रुपमा आयोजना गर्दै आइरहेको छ । 
अहिलेसम्म डेढ लाख भन्दा बढी मानिसहरूको समस्या निराकरण गरिसकेको उनको भनाई छ । भारतको चण्डीगढमा स्थापित हरि ओम स्माइल्सले एक दशकभन्दा बढी समयदेखि ध्यान, आत्म–साक्षात्कार र सकारात्मक जीवनशैलीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
शिविरमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्षहरू, जिल्लास्थित प्रशासनिक तथा सरकारी निकायका उच्चपदस्थ अधिकारीलगायत भद्रपुरवासीको उल्लेख्य सहभागिता रहेको भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाले जानकारी दिए । सिंघलले बुधबार बिर्तामोडमा र बिहीबार काठमाडौं जाने कार्यक्रम रहेको जनाइएको छ । उनलाई नेपालमा ल्याउन सहजीकरण चिया उद्यमी सुरेशकुमार मित्तलका परिवारले गरेका छन् ।

सम्बन्धित समाचार