२०८३ असार ५ गते , शुक्रबार

झापा उपप्रमुख–उपाध्यक्ष सञ्जालको संयोजकमा नवराज भट्टराई

sajilo news
झापा
२०८१ मंसीर ३० गते , आईतबार
झापा उपप्रमुख–उपाध्यक्ष सञ्जालको संयोजकमा नवराज भट्टराई

झापा जिल्लाका उपप्रमुख–उपाध्यक्ष सञ्जालको संयोजकमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई चयन भएका छन् ।बिर्तामोडमा सम्पन्न उपप्रमुख–उपाध्यक्षहरूसँग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमको समीक्षा बैठकले आगामी समयका लागि कचनकवल गाउँपालिकाका उपाध्यक्ष भट्टराईलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

नवनियुक्त संयोजक भट्टराईलाई खादा माला अबिर पहिल्याएर बधाई ज्ञापन गरिएको थियो । त्यस्तै निवर्तमान संयोजक गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पूजन कुँवरले माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गरिन् । बैठकले कुनै पनि अनौपचारिक तथा औपचारिक कार्यक्रममा नगर प्रमुख ,उपप्रमुख वा अध्यक्ष तथा उपाध्यक्षमध्ये आफ्नो पालिकाको प्रतिनिधित्व गर्दै एकजना सहभागी हुँदा उपयुक्त हुने निष्कर्ष निकालेको छ । बैठकले कार्यक्रमको आवश्यकता र महत्त्व हेरेर दुवै जना उपस्थित हुनसक्ने समेत ठहर गरेको छ । संवाद समूहको सहजीकरण तथा सहारा नेपाल र फेयरमेडको सहयोगमा सञ्चालित विश्वास परियोजनाको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले उद्घाटन गर्दै जतिसुकै समानताको कुरा गरे पनि अपेक्षाअनुसार उपलब्धि नभएको बताइन् । महिलाहरूलाई कठैबरा र बिचरा नभनी अवसर मात्र दिए जस्तोसुकै जिम्मेवारी बहन गर्न सक्ने उपप्रमुख रोक्काले स्पष्ट पारिन् । समीक्षा बैठकको अध्यक्षता गर्दै झापाका उपप्रमुख –उपाध्यक्षहरूको सञ्जाल संयोजक गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पूजन कुँवरले आफ्नो कार्यकालमा भए गरेका कामका बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा सञ्जालका प्रथम संयोजक मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर –४ स्थित आमडाँगीमा रहेको मानव सेवा आश्रमका लागि यो संस्थाले सहयोग गर्नुपर्ने प्रस्ताव राखिन् । हरेक पालिकामा उपप्रमुख–उपाध्यक्षको नेतृत्वमा महिलालाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्नेमा उनले जोड दिइन् । झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु थपलियाले हरेक पालिकामा कुनै न कुनै कुरामा महिला जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै उपप्रमुख, उपाध्यक्ष तथा महिला कर्मचारीलाई कमजोर नठान्न आग्रह गरिन् ।

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले अहिले यो व्यवस्थाका बारेमा विभिन्न कोणबाट प्रहार भएको भन्दै अब यो व्यवस्थाको रक्षाका लागि संस्थालाई अघि बढाउन आग्रह गरे । बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आफ्नो गाउँपालिकाले ६ महिनाको अवधिमा भए गरेका कामको जानकारी गराए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी,अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गकुमारी पराजुली, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमीला तिवारी, हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले आ–आफ्ना विचार राखेका थिए ।

सम्बन्धित समाचार