२०८३ बैशाख २३ गते , बुधबार

रोमाञ्चक जितसँगै काठमाडौंको प्लेअफ पुग्ने सम्भावना जीवितै

sajilo news
काठमाडौं
२०८१ मंसीर ३० गते , आईतबार
रोमाञ्चक जितसँगै काठमाडौंको प्लेअफ पुग्ने सम्भावना जीवितै

नेपाल प्रिमियर लिगमा रोमाञ्चक जित हात पार्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ। आइतबार टियु क्रिकेट मैदानमा विराटनगर किंग्सलाई १ विकेटले पराजित गर्दै काठमाडौंले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको हो। 

विराटनगरले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। अन्तिम विकेटमा काठमाडौंलाई १६ रन चाहिएको अवस्था थियो। जसमा दिपेश कँडेलले जिम्मेवारीपूर्ण पारी खेलेर ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रनको अविजित पारी खेले। उनीसँगै शंकर राना १६ रनमा अविजित रहे।
 काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। उनलाई अनिल खरेलले दीपपक बोहोराको हातमा क्याच भए। काठमाडौंका स्टेफन स्किनाजीले १ रन, माइकल लेभिटले १० रन, गेरहार्ड इरास्मसले १२ रन, डान डाउथवेटले १ रन, रासिद खानले १४ रन बनाउँद कप्तान करण केसी गोल्डेन डक भए। 
विराटनगरका लागि कप्तान सन्दीप लामीछानेले ३ विकेट र क्रिस सोल र अनिल खरेल र वसिर अहमदले समान २/२ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर १ बल अगावै ११७ रनमा अलआउट भएको थयो। विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए। उनले २० बलमा १ चौका र १ छक्का प्रहार गरे। विराटनगरले तेस्रो ओभरको चौथो बलमा ओपनर लोकेश बमलाई गुमायो। उनी ८ रन बनाउँदै डान डाउथवेटबाट एलबीडब्ल्यु आउट भए।
 
दोस्रो विकेटका रुपमा विराटनगरले तेस्रो क्रमका ब्याटर निकोलस क्रिटोनलाई १२ रनमा गुमायो। उनी १० बलमा २ चौका प्रहार गर्दै रन आउट भए। विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ४५ रन बनाएको थियो। तेस्रो विकेटका रूपमा ओपनर दिपक बोहोरालाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गरे । उनले २४ बलमा २ चौकासहित २० रन बनाए। चौथो विकेट स्कोट इड्वार्डको गयो। उनले १४ बलमा १ चौकासहित १५ रन बनाएर गेरहार्ड इरास्मसबाट बोल्ड आउट भए। 

त्यसपछि पाँचौं, छैटौं, सातौं र आठौं विकेट सस्तैमा गए। नवौं विकेटका लागि सुवास भण्डारी र राजेश पुलामी मगरले २७ रनको साझेदारी गरे। नवौं विकेटका रुपमा राजेश पुलामी मगर आउट करण केसीको बलमा भिम सार्कीको हातमा क्याच भए। अन्तिम विकेटका रूपमा अनिल खरेल १९.५ ओभरमा रन आउट हुँदा विराटनगर किंग्स ११७ रनमा अलआउट भएको हो।

काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ३ विकेट लिए। दिपेश कँडेलले २ विकेट लिँदा साहब आलम, करण केसी र डान डाउथवेले समान १/१ विकेट लिए। आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सुबीच हुनेछ। 

सम्बन्धित समाचार