२०८३ बैशाख २३ गते , बुधबार

आजदेखि झापा कप, मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने

sajilo news
झापा
२०८१ मंसीर २९ गते , शनिबार
आजदेखि झापा कप, मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने

बिर्तामोड। आजबाट सुरु हुने झापा कपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् ।झापा ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुनेछ । आज दिउँसो २ बजे बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता उद्घाटन हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोट्र्स क्लब र झापा ११ सहभागी हुने भएका छन् ।
प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम पूरा भएको आयोजक झापा ११ का अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक केशवराज दाहालले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार