२०८१ माघ २ गते , बुधबार

१०० मिटर अग्लो दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

sajilo news
पार्थ मण्डल
२०८१ मंसीर २३ गते , आईतबार
१०० मिटर अग्लो दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

झापा । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ अर्बभन्दा बढीको लागतमा नवनिर्मित दमक भ्युटावर (बिजनेस कम्प्लेक्स)को उद्घाटन गरेका छन् । 
ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७६ साल असार २६ गते ठेक्का लागेको दमक भ्युटावरको आइतबार एक भव्य समारोहका बीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । 
प्रधानमन्त्री ओलीले दमक नगरपालिका ३ मा डेढ अर्बभन्दा बढी लागतमा सय मिटर अग्लो भ्युटावरको उद्घाटन गरेसँगै आजदेखि सञ्चालनमा आएको छ । 
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो  बिजनेस कम्प्लेक्स चार बिगाहा १६ कठ्ठा क्षेत्रफलमा बनेको छ । यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँ तल्लासहित १८ वटा तला रहेका छन् । यस परियोजनाको अन्तिम लागत रकम एक अर्ब ६३ करोड ५४ लाख रहेको छ । 
२०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष् र ओम साइराम जेभीले लिएका थिए । ‘यो भ्युटावर नभई आन्तरिक र बाह्य पर्यटकीय भित्राउने झापासहित कोशी प्रदेशकै एउटा ठुलो बिजनेस कम्प्लेक्स हो,’ सचिव सिग्देलले भने,  ‘यस कम्प्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट लगायतका भवनहरू निर्माण गरिएको छ ।’ कम्प्लेक्सबाहिर बगैँचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाई छ ।    

सम्बन्धित समाचार