२०८३ बैशाख २३ गते , बुधबार

फुटबल खेलका क्रममा समर्थकबीच भएको झडपमा ५६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ मंसीर १८ गते , मंगलबार
फुटबल खेलका क्रममा समर्थकबीच भएको झडपमा ५६ जनाको मृत्यु

पश्चिम अफ्रिकी देश गिनीमा एक फुटबल खेलका क्रममा समर्थकबीच भएको झडप र त्यसपछिको भागदौडमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ। गिनीको दोस्रो ठूलो शहर नजेरेकोरेको रंगशालामा उक्त घटना भएको हो।

गिनीका सैन्य नेता मामाडी डुम्बोयाको सम्मानमा आयोजना गरिएको फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा रेफ्रीले गरेको विवादास्पद निर्णयपछि झडप भएको हो। पाहुना टोली लाबेका समर्थकहरुले रेफ्रीलाई लक्षित गर्दै मैदानमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो र तस्बिरमा ठूलो संख्यामा मानिसहरु रंगशालाको पर्खाल चढ्न खोजिरहेको र बाहिर थुप्रै शवहरु देखिएको छ। ज्यान गुमाउनेहरुमा थुप्रै जना नाबालक रहेको बताइएको छ। नजेरेकोरे र लाबेबीचको फुटबल प्रतियोगिता हेर्न रंगशालामा हजारौंको संख्यामा दर्शकको उपस्थिति थियो।  प्रधानमन्त्री ओउरी बाहले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी पत्ता लगाउन छानबिनको आदेश दिएका छन्।

सम्बन्धित समाचार