पिताकै पथ पछ्याउँदै सोनिया जब भुटानी शरणार्थी शिविर पुगिन्....
दमक । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारी यसपटक नेपाल आइन्। काठमाडौँ उत्रिएर सिधै झापा आएकी सोनियाले भोलिपल्टै भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरी पुगेर परिवार र आफन्तहरूलाई पनि आश्चर्यमा पारिन् ।
उनले दुवै शिविरमा गरेर वृद्ध वृद्धा र अशक्तहरूलाई ४ सय थान न्यानो कम्बल वितरण गरिन्। साथै शिविरमा बसोबास गर्ने विद्यार्थीहरूलाई १७ सय थान शैक्षिक सामग्री वितरण गरिन्। उनले एकल महिलाका लागि पनि कम्बल छुट्टाएकी थिइन्।
'मलाई यहाँ आएर सहयोग गर्न मन थियो। त्यो पनि आफैँले जम्मा गरेको रकमले।,' उनले सहयोग हस्तान्तरणको बेला छोटो मन्तव्य राख्दै भनिन्, 'केही वर्षदेखि नै खाजा खर्च, दसैँ, तिहार, जन्म दिन र अरू अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिए। त्यो रकम मलाई अन्यत्रभन्दा यहाँका शिविरहरूमा सहयोग गर्न मन लागेर आएकी हुँ।'
उनी विद्यालयबाट एक साताको मात्र बिदा लिएर नेपाल आएकी हुन्। १२ कक्षामा अध्ययनरत उनले विगत केही वर्षदेखि नै रकम जम्मा गरेर राखेकी रहिछन्। उनको इच्छा आफ्नो १८ औं जन्म दिनको अवसरमा केही गर्ने थियो। त्यही इच्छा पूरा गर्न यसपटक उनी नेपाल आएकी थिइन्। न्यानो कम्बल र शैक्षिक सामग्री गरेर लगभग १४ लाख रुपैयाँको सामान उनले किनेर वितरण गरिन्।
नर्सरी कक्षादेखि ३ कक्षासम्मका बालबालिकालाई दुई पेन्सिल, दुई इरेजर, दुई सार्पनर, दुई वटा सय पेजका कापी र कलर पेन्सिलको एक प्याकेट र स्केलको एउटा प्याक बनाइन् र वितरण गरिन्। त्यसैगरी ४ देखि १० कक्षासम्मका लागि दुई वटा सय पेजका कपी, ज्यामिति बक्स, दुई वटा कलमको प्याकेज तथा ११ र १२ कक्षाका विद्यार्थीहरूलाई ठुलो साइजका दुई वटा नोट बुक, दुई वटा डट पेन र एउटा एडुकेट क्यालकुलेटरको प्याकेट बनाएर हस्तान्तरण गरेकी थिइन्। सबै बालबालिकालाई उनले चकलेट पनि वितरण गरिन्।
अति आवश्यकता परेको समुदायमा सहयोग गर्न पाउँदा उनले खुसी व्यक्त गरिन्। उनी पनि झापाको टिमाई शरणार्थी क्याम्पमै जन्मेकी थिइन्। आफ्नो पृष्ठभूमिबारे उनले छोटोमा भनिन्, 'म डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी हुँ। चार वर्षको हुँदा यहाँबाट अमेरिका गएकी थिएँ। यसअघि नेपाल आउँदा म सानै थिएँ यसपल्ट स्कुलबाट बिदा लिएर आएँ। अहिले १२ कक्षा पढ्दै छु। ठुलो भएपछि म डाक्टर बन्न चाहन्छु। म फेरि फेरि पनि नेपाल आएर सहयोग गर्न चाहन्छु।'
उनका पिता डिल्ली अधिकारी समाजसेवाको क्षेत्रमा नेपाली समुदायकै अग्रणी व्यक्तित्व मानिन्छन्। पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेपछि व्यवसायमा लागेका उनले आफ्नै नेतृत्वमा इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका नामक गैरनाफामुलक संस्था खोलेर संसारभरका नेपाली जातिलाई सांस्कृतिक एकताको अभियान चलाइरहेका छन्। मेरो भ्वाइस युनिभर्सल र मेरो डान्स युनिभर्सल नामका दुई रियालिटी सोहरूमार्फत संसारभरका नेपालीलाई नेपालसँग जोड्ने उनको उद्देश्य छ। त्यसैगरी शिविरहरूमा बसोबास गर्ने वृद्धवृद्धा र असक्तहरूलाई मासिक ५ हजार रुपैयाँ जीवन निर्वाह रकम पनि उनले वितरण गर्दै आएका छन्।
दमक नगरपालिका र पथरी नगरपालिकाका लागि दुई वटा एम्बुलेन्स, दुवै शिविरहरूमा स्वास्थ्य चौकीको व्यवस्था पनि अधिकारीले गरेका छन्। त्यसैगरी शिविरका विद्यार्थीहरू पढ्ने झापा र मोरङका विद्यालयमा ३० जना शिक्षकहरूको तलब पनि फाउन्डेसनले पनि व्यहोर्दै आएको छ। शिविरहरूमा पिताले गरेको परोपकारी कामबारे बारम्बार सुन्ने गरेकी सोनियाले पनि जम्मा गरेको रकमलाई शिविरमै खर्च गर्न पाउँदा खुसी लागेको बताइन्।