२०८३ असार ५ गते , शुक्रबार
पाकिस्तानमा गुडिरहेका सवारीसाधनमा बन्दुकधारीहरुको आक्रमण, ४२ जनाको मृत्यु
पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ। बन्दुकधारीको आक्रमणबाट ४२ जनाको ज्यान गएको र थप १६ जना गम्भीर घाइते भएको पाकिस्तानको समाचार संस्था जीओ न्यूजले जनाएको छ।
अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ। प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गर्दै आतंककारीलाई कानूनी कठघरामा उभ्याउने बाचा गरेका छन्।
भूमिको स्वामित्वलाई लिएर सो क्षेत्रमा दशकौंदेखि शिया र सुन्नि मुश्लिम हतियारधारी समूहबीच विवाद रहँदै आएको छ। अहिलेसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन।