२०८३ असार ५ गते , शुक्रबार

रङ्गीबिरङ्गी छाताले सिँगारियो झापाको धार्मिक पर्यटकीय स्थल दोमुखा

sajilo news
झापा
२०८१ मंसीर ५ गते , बुधबार
रङ्गीबिरङ्गी छाताले सिँगारियो झापाको धार्मिक पर्यटकीय स्थल दोमुखा

झापाको कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीय स्थल दोमुखालाई यतिबेला बेहुलीझैँ सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ ।

शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताए । “हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षौँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ”, उनले भने, “पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ ।”
दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोज स्थल, बाल उद्यान, बहुसांस्कृतिक सङ्ग्रहालयलगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्वार माईधारमा आकर्षक द्वार निर्माण गरिएको छ । यहाँ आउने पर्यटकलाई दृष्टिगत गरी ३० वटा बढी सानाठूला होटेलसमेत सञ्चालनमा छन् । पालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडक बत्ती जडान गरेर झिलिमिली बनाउने कार्यलाई अघि बढाएको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिए । दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख थोप्राले बताए ।

कनकाई नदीबाट नहरमा बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा मङ्सिरदेखि चैतसम्म पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायत स्थानबाट पर्यटक आउने गरेका छन् । वार्षिक एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेका छन् ।

सम्बन्धित समाचार