बसको ठक्करबाट छात्रा मृत्यु घटना : खनार तनावमा २२ जना प्रहरी घाइते, ५६ राउन्ड फायर
बसको ठक्करबाट बालिकाको मृत्युपछि सुनसरीको खनारमा उत्पन्न तनावमा २२ जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीतर्फ २० र सशस्त्र प्रहरीतर्फ २ जना गरी जम्मा २२ जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रण बाहिर गई प्रहरीमाथि ढुङ्गामुडा गरेपछि प्रहरीले इन्सास राइफलबाट ११ राउन्ड, ग्यास गनबाट ११ सेल अश्रु ग्यास, ३०३ राइफलबाट २५ राउन्ड ब्ल्याङ्क फायर , एसएलआरबाट २ राउन्ड, सटगनबाट ७ काटिज गरी जम्मा ५६ राउन्ड फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । बस चालक विराटनगर –१३ बस्ने २७ वर्षीय अमित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ भने आगजनीबाट क्षतिग्रस्त बस खनार ट्राफिक पोस्टको नियन्त्रणमा रहेको छ । बालिकाको शव साँझ ६.४४ बजे कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ ।
हिजो साँझ ४.३० बजे प्रदेश नं. १–०१–००१ ख ४५७४ नं. को बसको ठक्करबाट एक जना छात्राको मृत्यु भएपछि आक्रोशित भीडले सो यात्रुवाहक बसलाई आगो लगाइदिएका थिए । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका हुन् । आगजनीबाट बस पूर्णरूपले जलेर नष्ट भएको छ । बसमा आगजनी हुन थालेपछि यात्रुहरू निस्किएर भागेका थिए ।
इटहरी –१२ स्थित रिलाईन्स मिल अगाडि कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको सो बसले साइकल यात्री इटहरी –१० बस्ने श्यामनारायण यादवकी छोरी १३ वर्षीया सम्झना यादवलाई ठक्कर दिएको थियो । इटहरी– ९ स्थित जनता माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्ने सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो । ।