२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको क्वाटरफाइनलमा

sajilo news
झापा
२०८१ कार्तिक २७ गते , मंगलबार
भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको क्वाटरफाइनलमा

अर्जुनधारा । भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रङ्गशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले पराजित गर्दै भद्रपुर विजयी बन्यो ।

भद्रपुरका लागि प्रदीप बुढाथोकीले ह्याट्रिकसहित ४ गोल गरे । उनले पहिलो हाफको ३० औं मिनेटमा पहिलो गाले गरेका थिए । ३५ औं मिनेटमा दोस्रो गोल गरेका बुढाथोकीले दोस्रो हाफको १४ मिनेटमा टिमका लागि पाँचौँ र व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुर गरे ।
पहिलो हाफको ३८ औं मिनेटमा भद्रपुरका लागि उदेस कामतीले तेस्रो गोल गरेका थिए । दोस्रो हाफको १२ औं मिनेटमा विपक्षीको पोस्टमा गोल प्रहार गर्दै जाली चुमाएका रोहित सुब्बाले भद्रपुरका लागि चौथो गोल गरे । विजेता टिमका लागि प्रदीप बुढाथोकीले दोस्रो हाफको २० औं मिनेटमा छैैंटौ गोल गरेका थिए ।

खेल सुरु भएको ४ मिनेटमा पहिलो गोल गर्दै भद्रपुर विरुद्ध लिएको अग्रता जोगाउन नसक्दा आयोजकले फराकिलो हार बेर्होन पुग्यो । आयोजकका लागि पहिलो हाफको चौथो मिनेटमा कप्तान राजेश दाहालले हेड मार्फत गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको १० औं मिनेटमा विशाल माझीले टिमका लागि दोस्रो गोल गरे । भद्रपुरको लगातारको प्रहार खेपेर कमजोर बनेको आयोजकले थप गोल स्कोर बढाउन सकेन ।

भद्रपुरका लागि ४ गोल गरेका प्रदीप बुढाथोकी आजको खेलको ‘म्यान आफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाएँ । उनलाई भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, प्याब्सन अर्जुनधाराका उपाध्यक्ष बालगोपाल गौतम र प्रतियोगिताका संयोजक सिताराम भट्टराई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरु भएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको वेस्ट स्कोरर, वेस्ट डिफेन्डर, वेस्ट कोच, वेस्ट फरवार्ड, वेस्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । गोल्डकपमा भोली बुधवारबाट क्वाटरफाइनलका खेलहरू सुरु हुनेछ । पहिलो क्वाटर फाइनलमा कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाबिच खेल हुने आयोजक समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

सम्बन्धित समाचार