बिर्तामोडमा कर्मचारी सञ्चय कोषको सेवा केन्द्र बिस्तार
बिर्तामोड । झापाको बिर्तामोडमा कर्मचारी सञ्चय कोषले नयाँ सेवा केन्द्र बिस्तार गरेको छ । बिर्तामोडमा सेवा केन्द्र विस्तारसँगै साबिकको मेची अञ्चलका सञ्चयकर्ता कोषको सेवा लिन विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ भने काठमाडौँ उपत्यका बाहिर रहेका सेवा प्रवाह गर्ने शाखा कार्यालयको सङ्ख्या आठ र दुई वटा सेवा केन्द्र गरी १० पुगेको छ ।
पुलचोक ललितपुर केन्द्रीय कार्यालय रहेको कोषले काठमाडौँ उपत्यकामा ठमेल, सिंहदरबार र लगनखेलबाट आफ्ना सञ्चयकर्तालाई सेवा प्रवाह गर्दै आएको छ ।
सेवा केन्द्रको उद्घाटन कोषका प्रशासक सिए जितेन्द्र धितालले गरेका थिए। उक्त उद्घाटन कार्यक्रमबीच प्रशासक धितालले कोष प्रविधिमार्फत अनलाइन कारोबारका लागि सञ्चयकर्ताको हातै पुगेको भएता पनि धितोमा आधारित कर्जा लगायत अन्य सेवा प्रवाह लागि कोषलाई स्थानीयस्तरमा पु¥याएको नै बताए । कोषको सेवालाई सधैँ सञ्चयकर्ता मैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
कर्मचारी सञ्चयन कोष ऐन, २०१९ बमोजिम सञ्चय कोष व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको कोषले निवृत्तिभरण कोष ऐन, २०७५ बमोजिम २०७६ श्रावणपछि नियुक्त हुने कर्मचारीको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्थापन समेत गर्दै आएको छ ।
कोषले सञ्चयकर्ताको सेवा कालिन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह गर्दै आएको छ भने सञ्चयकर्ताको सामाजिक सुरक्षालाई केन्द्रमा राखी सुत्केरी तथा शिशु स्याहार योजना, सञ्चयकर्ता स्वास्थ्य उपचार योजना, दुर्घटना क्षतिपूर्ति योजना र काजक्रिया अनुदान योजना सञ्चालन गर्दै आएको छ ।
उक्त उद्घाटन कार्यक्रममा कोषका कामु सह प्रशासक भरतराज बस्ती, सम्पत्ति व्यवस्थापन विभागका विभागीय प्रमुख शान्ता गौतम, शाखा कार्यालयका विराटनगरका कार्यालय प्रमुख रामशरण अर्याल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख दीपेन्द्र सापकोटाले गरेका थिए ।