आयोजकले उचाल्यो रोलिङ च्यालेन्ज कपको उपाधि

मेचीनगर । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । आज धुलाबारी नमुना माविको खेल मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो ।
टाइब्रेकरमा रोलिङले माने भन्ज्याङलाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो । यसअघि खेलको ४२ औँ मिनेटमा रोलिङका लागि रोहण कार्कीले एक गोल गरे । त्यस्तै, माने भन्ज्याङका लागि ६६ औँ मिनेटमा कप्तान सोनाम जङपोले एक गोल गर्दै खेल बराबरीमा ल्याए ।
फाइनल खेलको प्लेयर अफ द म्याच रोलिङका गोल किपर युवराज पुरी भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।
उपाधिसँगै रोलिङले नगद ३ लाख, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित माने भन्ज्याङले नगद एक लाख ५० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर रोलिङका अभिषेक बराल, उत्कृष्ट डिफेन्डर रोलिङका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर माने भन्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका नीरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र प्रशिक्षक रोलिङका सचिन्द्र धिमाल भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोलिङका रोहण कार्की भए । उनीहरूले नगद १५ हजार र ट्रफी पाए ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईँ, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्लबका उपाध्यक्ष इन्द्र आङदेम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खड्का र सचितानन्द सुब्बाले गरेका थिए ।a