बिरिङ पुल चढन् अस्थायी फलामे पुल, १५ दिनपछि आउजाउ सुरु
झापा । हुलाकी राजमार्ग अन्तरगत झापा गाउँपालिका- ५ पान्थापाडास्थिति बिरिङ पुलबाट आउजाउ सुरु भएको छ । असोज ११ गतेको वर्षापछि खोलामा आएको बाढीले बिरिङ पुलको बाटो कटान गरेको थियो । बाढीले पुलको पश्चिम साइटको १० मिटर जति भाग कटान गरी क्षति पुराउँदा आउजाउ बन्द भएको थियो ।
बिरिङ पुल चढन अहिले अस्थायी रुपमा फलामे पुल निर्माण गरिएको हो । १५ दिनपछि आउजाउ सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । निर्माण व्यवसायी शेरबहादुर थापाको पहल र स्थानीयको सहयोगमा अस्थायी फलामे पुल बनाइएको हो । सो पुल पाँच दिनमा बनाइएको हो ।
निर्माण गरिएको फलामे पुल ६.५ फिटको चौडाइ र २४.५ मिटर लम्बाई रहेको छ । पुल निर्माण गर्न करिब ३ लाख खर्च भएको जनाइएको छ । उक्त पुलबाट आउजाउ बन्द भएसँगै बाह्रदशी, हल्दीबारी, झापा, कचनकवलका स्थानीयलाई समस्या परेको थियो ।
स्थानीयले २० किलोमिटर दुरीमा रहेको सदरमुकाम भद्रपुर जान सुरुङ्गा, बिर्तामोड हुँदै ६५ किलोमिटर दुरीको यात्रा गर्न बाध्य भएका थिए । अहिले फलामे पुल सुचारु भएपछि पैदल यात्री, साइकल यात्री, मोटरसाइकल र अटोलाई चाडपर्वको बेला ठुलो राहत मिलेको स्थानीय गजेन्द्र ताम्लीले बताएका छन् ।