भारतको मुम्बइमा भारी वर्षा : धेरै ठाउँ डुबानमा, विद्यालय र कलेज बन्द
नयाँ दिल्ली । भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै उपनगरीय क्षेत्र डुबानमा परेका बीबीसी समाचारमा उल्लेख छ।
वर्षाको कारण स्थानीय ट्रेनहरू रोकिएको थियो। मुम्बई आउने कम्तिमा १४ उडानहरू डाइभर्ट गर्नुपरेको जनाइएको छ। भारतीय मौसम विभागले मुम्बई र यस आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहान ८स्३० बजेसम्म रेड अलर्ट जारी गरेको छ।
भारी वर्षाका कारण बृहन्मुम्बइ महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ । मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ। लगातारको वर्षाको कारण, सेप्टेम्बर २५ मा थानेको मुम्ब्रा नजिकै राती साढे ९ बजे पहिरो गएको थियो। जसका कारण उक्त क्षेत्रमा तीन घण्टाभन्दा बढी समयसम्म ट्राफिक जाम भएको थियो ।
मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।