विद्यार्थीमाथि यौन दुर्व्यवहार प्रकरण : पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक मेचे र कर्मचारी खनाललाई कानूनी कारवाहीको माग
बिर्तामोड । वीर अमरसिंह माविका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्नेलाई कडा भन्दा कडा कानुनी कारबाही गरिनुपर्ने माग गरिएको छ । बिर्तामोड नगरपालिका- २ बेलडाँगीमा रहेको विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार गर्ने पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र कर्मचारी नारायण खनाललाई कानुनी कारबाहीको माग गरिएको हो । उनीहरूले व्यवहारिक अभ्यास शिक्षण(ओजेटी) का लागि पठाइएको विद्यार्थीमाथि यौन हिंसा गरेका र उनीहरूलाई कडा भन्दा कडा कारबाही गरिनु पर्ने विद्यालयका प्रधानाध्यापक यदु अधिकारीले माग गरे ।
१८ वर्ष पुरा भएपछि आए आइफोन किनिदिने भन्दै उनीहरूले विद्यार्थीको संवेदनशील अङ्गमा छुने, सुमसुम्याउने, नदिए ओजेटीको प्रमाणपत्र नै नदिने र विद्यार्थीलाई घुम्न जान दबाब दिने जस्ता त्रास देखाएर छात्राहरूमाथि यौन हिंसा गर्ने गरेको प्रधानाध्यापक अधिकारीको भनाई छ । विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेसँगै मेचे र खनाल पक्राउ परेका थिए । तर, मेचे रिहा भएका छन् भने खनालमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको पावरटेक कम्प्युटरमा व्यवहारिक अभ्यास शिक्षण(ओजेटी) का लागि पठाएका विद्यार्थीमाथि भएको यौन दुर्व्यवहारपछि उनीहरूलाई कारबाही गर्न विद्यालयले माग गर्दै आफ्ना विद्यार्थी फिर्ता बोलाएको छ ।
गत साउन ३२ गते छात्रामाथि यौन दुर्व्यवहार भएको विद्यालयले जनाएको छ ।
वीर अमरसिंह माविमा २०७४ सालदेखि कम्प्युटर इन्जिनियरिङ अध्ययन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म त्यस विद्यालयमा प्राविधिक धारको सो विषयमा अध्ययन हुँदै आएको हो । कोर्ष अनुसार विद्यार्थीले एसइई परीक्षापछि ३०० घण्टा, कक्षा ११ को परीक्षापछि ३०० घण्टा र कक्षा १२ को फाइनल परीक्षापछि ६०० घण्टा ओजेटीमा सहभागी हुनुपर्छ । त्यसपछि मात्र विद्यार्थीको १०० पूर्णाङ्कको परीक्षा पुरा हुने नीति राष्ट्रिय परीक्षा बोर्डको छ ।
त्यसका लागि विद्यालयले बिर्तामोड क्षेत्रका विभिन्न कम्प्युटर पसल तथा इन्स्टिच्युटहरूमा विद्यार्थीलाई ओजेटी गराउँछ । त्यसै क्रममा पावरटेकमा पठाइएका छात्रामाथि यौन दुर्व्यवहार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
छात्रामाथि यौनजन्य दुर्व्यवहार भएपछि त्यहाँबाट विद्यार्थी फिर्ता लगिएको उनले बताए । त्यहाँ वीर अमरसिंहका ५ जना विद्यार्थीलाई ओजेटीका लागि सहभागी गराइएको थियो ।