सवारी ज्यान मुद्दामा उर्लाबारी क्याम्पस प्रमुख पक्राउ
उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्की सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । गत साउन ३२ गते शुक्रवार दिउँसो करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउँपालिका–७ मा कार्कीले चलाएको प्र–१–०१–०१६ प ८२३५ नम्बरको मोटरसाइकलबाट लडेर उर्लाबारी–४ की ४२ बर्षिया शर्मिला बोहोरा घाइते भएकी थिइन् ।
घाइते बोहोरालाई स्थानीय प्रहरी र कार्कीको सहयोगमा उपचारका लागि मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ बोहोरोको उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन साँझ ७ः४० बजे विराटनगरस्थित विराट शिक्षण अस्पताल रिफर गरिएको थियो । बोहोराको हिजो विहान ४ः१५ बजे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
बोहोराको उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारले हिजो इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका छन् ।जाहेरीपश्चात् प्रहरीले ५० वर्षीय कार्कीलाई नियन्त्रणमा दिएर सवारी ज्यान मुद्दा चलाउने तयारी गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।
मृतकका आफन्त सुनिल बोहोराले कार्कीले घटना घटेको ३ दिनसम्म पनि अभिभावकलाई जानकारी नगराई अस्पताल लगेर लापरबाही तरिकाले उपचार गराउँदा मृत्यु भएको आरोप लगाएका छन् ।