२०८३ असार ४ गते , विहीबार

झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु

sajilo news
रासस
२०८१ भाद्र ३ गते , सोमबार
झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु

खोटाङ ।  झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ। तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो।अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए।बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो।

भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनको भनाइ छ।

आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको पत्रकार हरिबोल आचार्यले बताए। स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए। दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन्।

 

 

सम्बन्धित समाचार