ओमन गएकी झापाकी बिनादेवी कोमा, आमालाई स्वदेश फर्काइदिन छोराको आग्रह
चारआली । ६ वर्षअघि ओमन पुगेकी झापा मेचीनगरकी बिनादेवी कवरलाई नेपाल ल्याउन उनका छोराले आर्थिक सहयोगको अपिल गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले अचेत अवस्थामा रहेकी आमालाई नेपालसम्म ल्याउन आर्थिक सहयोग गरिदिन पत्रकारहरूसमक्ष अपिल गरेका हुन् ।
प्रेस क्लब मेचीनगरको हलमा पत्रकारहरूसमक्ष बिनादेवीका छोरा सञ्जय कवरले आर्थिक र समन्वयात्मक सहयोग गरेर नेपालसम्म ल्याइदिन आग्रह थिए । बिनादेवी झापाको मेचीनगर-१० स्थित कवर बस्तीका चिनीलाल कवरकी श्रीमती हुन् ।
बिनाका श्रीमान् चिनीलाल धुलाबारीमा नै सामान्य ज्यालादारी काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज टिस्टेटमा मजदुरी गर्छन्, कान्छो छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कवरको विवाह भइसकेको छ । ४५ वर्षीया बिनादेवी परिवारको आर्थिक अवस्था सुधार्न २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन मुलुक गएकी थिइन् । बिनादेवीको दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना प्यारालाइसिस भएपछि असफल मात्रै भएन, डेढ वर्षदेखि शरीरको अङ्ग नचल्ने बिरामी भएपछि त्यहाँको सरकारी `सुलतान कावुस्स सलाह अस्पताल´मा आइसुलेसनमै छन् ।
आमालाई घर ल्याउन करिब १४ लाख बढी खर्च लाग्छ भएपछि सञ्जयले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका हुन् । दैनिक मजदुर गरेर गुजारा चलाउँदै आएका छौँ । आर्थिक अवस्था कमजोर छ । यत्रो पैसा कहाँबाट ल्याउनु, सञ्जयले भने,` जस्तोसुकै अवस्था भएपनी मेरी जन्मदिने आमाको हेरचाह आफै र आफ्नै देशमा गर्छु । त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग अनुरोध गरेको हुँ ।´
बिनादेवी कसरी पुगिन् ओमन:
२०७५ सालको भदौमा स्थानीय चिनेको मेचीनगर-६ का गोरे उपनामले चिनिने व्यक्तिसँगको सहकार्यमा कुवेत पुगेकी थिइन् । १४ महिना कुवेतमा काम गरेपछि राम्रो सुविधा र आर्थिक जोह गर्न सकिने भएपछि ओमन पुगेकी थिइन् । उनले घर खर्च भनेर पैसा अलिअलि भएपनि पठाएको पनि थियो । उनका छोराले भने , ` कुनै रोग पनि थिएन एक्कासि २०७९ माघ २३ गते अचानक बिरामी भएको खबर आयो । परिवारले चासो दिए पनि आर्थिक अभाव भएपछि आमाको सम्झनामै दिन बिताउँदै आएको छु।´
मेचीनगर नगरपालिका कार्यालयमा रहेको सामी संस्थाकी कर्मचारी गीता खरेलले समन्वयमा पूर्व स्वास्थ्य मन्त्री गिरिराज पोखरेलसँग कुरा गर्दा नेपाल सरकारको खर्चमा ल्याउन सम्बन्धित मन्त्रालयलाई जानकारी गराएको बताए पनि हालसम्म कार्यान्वयन नभएको बताइन् ।
धुलाबारीका स्थानीय समाजसेवी धमेन्द्र खडकाले पत्रकार सम्मेलनमै ओमनको नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यसँग भिडियो सम्पर्क गरी बिनादेवीको बारेमा थप जानकारी गराएका थिए । कन्सुलर आचार्यले ओमनको मस्कट शहरदेखि एक हजार १४ किलोमिटर टाढा रहेको सरकारी सुलतान कावुस्स सलाह अस्पतालमा बिनादेवी कवरको उपचार भइरहेको र उनलाई नेपालसम्म पुर्याउन करिब १४ लाख लाग्ने बताए । नेपाल ल्याउन मेडिकल सर्पोटको टिमसहित दुई वटा जहाजमा परिवर्तन गर्नुपर्ने भएकाले उक्त खर्च आउने उनको भनाई थियो ।
कन्सुलर आचार्यले बिनादेवीलाई गरिने सबै उपचार गरिसकेको, अचेत अवस्थामा रहेको, चेतना छ, बोली नआएको पनि जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा बिरामी बिनाकी दिदी बुल्ली कवर, जेठा छोरा सञ्जय, सामीकी कर्मचारी गीता खरेल, समाजसेवी धमेन्द्र खड्का लगायत थिए ।