२०८३ असार ४ गते , विहीबार

बुद्ध एयरको जहाजभित्रै सिकिस्त बिरामी भएका नाबालकको मृत्यु

sajilo news
मोरङ
२०८१ श्रावण २३ गते , बुधबार
बुद्ध एयरको जहाजभित्रै सिकिस्त बिरामी भएका नाबालकको मृत्यु

विराटनगर विमानस्थलबाट यात्रु लिएर काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजभित्रै सिकिस्त भएका नाबालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडाका ताराकिरण राईका ५ वर्षीय छोरा संयोगहाङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यूफोर ७१० कल साइन भएको जहाज विराटनगरबाट ५७ जना यात्रु लिएर बुधबार दिउँसो १२: २४ बजेतिर काठमाडौँका लागि उडेको थियो । जहाज उडिरहेका बेला नाबालकलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि फर्काएर विराटनगर नै ल्याइएको बुद्ध एयर विराटनगरका स्टेसन मेनेजर कौशल भण्डारीले बताए । फर्काइएको जहाज १२:५९ बजेतिर विराटनगरमा ल्यान्ड गरेको थियो । ‘श्वासप्रश्वासमा समस्या भएर बच्चा सिकिस्त भएपछि बीचैबाट जहाजलाई फर्काएर विराटनगर ल्यान्ड गराइयो । तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पठाइयो,’उनले भने, ‘जहाजबाट निकाल्दा बच्चाको अवस्था सामान्य थियो । श्वासप्रश्वास चलिरहेको थियो ।’

बच्चालाई आकस्मिक समस्या परेपछि यात्रुसहित जहाज विराटनगर नै फर्काउनु परेको भण्डारीको भनाइ छ । उनका अनुसार जहाजमा चढ्ने बेलामा पनि बच्चाको अवस्था सामान्य नै थियो । जहाजले उचाइ लिने क्रममा अक्सिजनको कमी भएर बच्चालाई श्वासप्रश्वासमा समस्या भएको हुनसक्ने भण्डारीले बताए । उनले जहाजलाई कहाँबाट फर्काइयो भन्ने यकिन नभएको बताए । बच्चालाई बाहिर निकालिसकेपछि भने जहाज यात्रु लिएर काठमाडौँ गएको जानकारी भण्डारीले दिए । 

नाबालकलाई जहाजबाट बाहिर निकालेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ दिउँसो १:३५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । 

सम्बन्धित समाचार