आज साउनको तेस्रो सोमबार, भक्तजनको शिवालयमा भीड
आज साउनको तेस्रो सोमबार। बिहानैदेखि पशुपतिनाथ मन्दिरका ढोका भक्तजनको दर्शनका लागि खुला गरिएका छन्। आज तेस्रो सोमबार सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको भीड लागेको छ।
भक्तजनले सुन्दरीजलबाट पवित्र जल ल्याएर पशुपतिनाथमा चढाउने गर्छन्। प्रत्येक वर्ष साउनको प्रत्येक सोमबार भगवान शिवको पूजा आराधना गर्न पशुपतिनाथ र देवघाट, चितवनमा मन्दिरमा पूजा गरे आशिर्वाद प्राप्त हुने विश्वासका साथ उनीहरुको भीड लाग्ने गरेको छ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ। साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस अवसरमा विशेषगरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ। साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजाआराधना गर्ने गर्छन्।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ।