बिर्तामोडमा जुवातास खेल्दै लागूऔषध बेच्दै
झापाको बिर्तामोडमा जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा चार जना पक्राउ परेका छन् । गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा न.–७ घर भई बिर्तामोड नगरपालिका वडा न. ५ स्थित सुब्बा चौक खानेपानी ट्याङकी छेउ बस्ने तिलकचन पनेरुको घरमा डेरा गरी बस्ने ३२ वर्षीय विजय मगरको डेरामा त्यसरी जुवातास खेल्दै लागूऔषध बेच्दै गरेको भेटिएको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले मगरको कोठाको तलासी लिँदा तास एक बुक, इलाम माई नगरपालिका २ बस्ने ३० वर्षीय रुपेश ढुङ्गानाको साथबाट १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर, मेचीनगर नगरपालिका ९ बस्ने ४५ वर्षीय शेरबहादुर लिम्बूको साथबाट नगद रु. १२० , अर्जुनधारा नगरपालिका ७ बस्ने ३२ वर्षीय विजय मगरको साथबाट नगद . १४५० र सोही ठाउँ बस्ने ३७ वर्षीय विदुर मगर समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गएराति ८.३० बजे मेचीनगर नगरपालिका वडा न.–६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतको पानीटंकीबाट सिटी सफारीमा चढी नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका वडा न. ९ शान्ति टोल बस्ने २६ वर्षीय अजय धिमालको शरीर तलासी लिने क्रममा उनले बोकी ल्याएको झोलाको प्वालभित्र प्लास्टिकले पोका पारेर लुकाई राखेको १ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।