२०८१ माघ १० गते , विहीबार

मोरङ कारागारका कैदी उपचाररत अस्पतालबाटै भागेपछि...

sajilo news
मोरङ
२०८१ श्रावण १७ गते , विहीबार
मोरङ कारागारका कैदी उपचाररत अस्पतालबाटै भागेपछि...

विराटनगर ।  विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको जिल्ला कारागार मोरङका कैदी उपचाररत अस्पतालबाटै फरार भाएका छन्। विराटनगर–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बिहीबार बिहान ५:१५ बजेतिर फरार भएका हुन्। कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका उनलाई उपचारका लागि मंगलबार विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो। 

निगरानीमा खटिएका प्रहरीलाई धकेलेर उपचाररत अस्पतालबाटै अहमद फरार भएको उनले बताए। उनको निगरानीका लागि कारागारले प्रहरी सहायक हवल्दार राजीव राजभण्डारी र जवान ज्ञानेन्द्रबहादुर कटवाललाई खटाएको थियो। शौचालय जाने क्रममा कैदी फरार भएपछि खोजतलास तीव्र पारिएको जानकारी पौडेलले दिए। भागेका कैदीको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैँ खटिएका छन्।

मातहतका विभिन्न युनिटबाट पनि प्रहरी परिचालन गरेर खोजी जारी राखिएको छ। भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी उच्च बनाइएको छ। शंकास्पद स्थानसहितका विभिन्न ठाउँमा प्रहरीले खोजतलास गरिरहे पनि फरार भएका कैदी फेला परेका छैनन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले कैदी फरार भएको घटनामा अनुसन्धान सुरु गरिएको बताए। घटनामा प्रहरीको लापरबाही छ कि छैन भनेर हेर्ने काम पनि भइरहेको उनको भनाइ छ। प्रहरीको गल्तीले कैदी भागेको पाइएमा कारबाही गरिने उनले बताए। ‘शौचालन जाने क्रममा निगरानीमा खटिएका प्रहरीलाई कैदीले धकेलेर लडाएछन्। प्रहरी लडेको मौका छोपेर कैदी भागेको पाइयो,’ डीएसपी बस्नेतले भने, ‘फरार भएका कैदीको खोजी तीव्र पारिएको छ। कसरी भागे भनेर यकिन गर्न अनुसन्धान सुरु गरिएको छ।’ 

अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन्। उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो। त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो। 

अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने हुन्थ्यो। कोशी अस्पतालमा हाल मोरङ कारागारका ५ महिलासहित ८ जना कैदीबन्दीको उपचार भइरहेको निमित्त जेलर पौडेलले बताए। उनका अनुसार कारागारमा हाल ४ नाबालक र ९५ महिलासहित १ हजार १६ जना कैदीबन्दी छन्। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार