प्रभु बैङ्क बिर्तामोड शाखाबाट बचतकर्ताको लाखौँ रकम गायब !
बिर्तामोड । प्रभु बैङ्क बिर्तामोडका कर्मचारीका कारण झापा बिर्तामोडका एक व्यक्तिको लाखौँ रुपैयाँ जोखिममा परेको छ । बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बिर्तामोडस्थित प्रभु बैङ्कमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैङ्कको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो ।
प्रभु बैङ्कका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैङ्कमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटक पटक रकम जम्मा भएको भौचरहरू दिए पनि सिस्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैङ्कमा जम्मा भएका स्टेटमेन्टहरू दिए पनि बैङ्कमा बुझ्न जाँदा जम्मा दुई लाख रुपैयाँ मात्रै बचत रहेको भन्दै बैङ्कले फर्काई दिएपछि बैङ्कको बदमासी बाहिर आएको हो ।
पीडित नेपाल र श्रीमान् टीकाराम ‘नेति’ नेपालले अमेरिका जानुअघि ६ महिनाका लागि फिक्स डिपोजिटमा एक करोड १९ लाख ९३ हजार एक सय ४९ रुपैयाँ ८४ पैसा जम्मा गरेका थिए । उनीहरूले फिक्स डिपोजिटको रसिद माग गर्दा सिटौलाले ब्यालेन्स सर्टिफिकेट र डिपोजिट गरेको सक्कल कपी दिएपछि नेपाल दम्पती अमेरिका गएका थिए ।
अमेरिकाबाट फर्किएपछि रकम झिक्न जाँदा रकम नै नभएको भनी चेक रिटर्न गरेपछि प्रभु बैङ्कका कर्मचारी सिटौलाको बदमासी बाहिरिएको हो । बैङ्कका शाखा प्रमुखसहितको कर्मचारीको मिलेमतोमा रकम अपचलन गरेको हुन सक्ने आशङ्का गरिएको छ ।
बैङ्कमा रकम नभएको जानकारी प्राप्त भएसँगै पीडित नेपालले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन् । उजुरी लगत्तै बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै बैङ्कमा पेस गरिएका प्रमाणसहित उनले आफ्नो रकम सिटौलाको बदमासीका कारण गायब हुने स्थितिमा पुगेको गुनासो गरे । बैङ्कले कर्मचारीको बदमासीका विषयमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।
बैङ्कका शाखा प्रबन्धक गणेशबहादुर बरालले सिटौलाले गरेको बदमासीका विषयमा केन्द्रले बिहीबारबाटै झापा आएर अनुसन्धान सुरु गर्ने जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै पीडित नेपालले आफूले विभिन्न कारोबार तथा छोराहरूले विदेशबाट पठाएको रकम जम्मा गरेर आफू पनि विदेश गएको र ६ महिनापछि पैसा निकाल्न जाँदा रकम नै गायब पारिएको उल्लेख गरे ।
सिटौला बुधवार बिहान आफूसँगै चन्द्रगढीबाट बिर्तामोड आएको र रकम आफूले निकाल्ने आश्वासन दिएका थिए । बैङ्कमा उजुरी गरेर आफूमाथि दबाब दिएको गुनासो गरेका उनले पीडित दम पत्तीलाई रकम यताउता मिलाएर आफूले नै राखिदिएको र कुनै रकम नहराउने भन्दै आश्वस्त पारेका थिए । सिटौला बुधवार बिहान १० बजे ग्याष्टिकको औषधि लिन भनी निस्किए लगत्तै फरार रहेको जनाइएको छ । उनले फरार भए लगत्तै सामाजिक सञ्जाल फेसबुक डिएक्टिभ गरेका छन् भने मोबाइल अफ गरेका छन् ।
बैङ्कमा आफूले जम्मा गरेको रकम नै गायब भएपछि नेपालले त्यस विषयमा अनुसन्धान गरेर नागरिकको रकम सुरक्षित गरिदिन सम्बन्धित निकायसँग माग समेत गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाविरुद्ध अविश्वासका घटना दिनप्रतिदिन बढिरहेका बेला बैङ्कमा जम्मा गरेको रकम नै गायब भएपछि बैङ्कमा रकम जम्मा गर्नेहरू त्रसित बनेका छन् ।