२०८३ असार ४ गते , विहीबार

बाढीले सडक बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

sajilo news
झापा
२०८१ श्रावण १६ गते , बुधबार
बाढीले सडक बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिवासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको महोत्तरी प्रहरीले जनाएको छ ।

बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए । अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । 

प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार तत्कालका लागि डाइभर्सन गरेर सवारी साधनलाई गन्तव्यतर्फ पुर्‍याउने काम भएको छ । ‘साना चारपाङ्ग्रेसम्मको सवारी साधनलाई माइस्थान चोकबाट गौशालाहुँदै लक्ष्मीनियाँ चोक निस्कने गरी डाइभर्सन गरिएको छ । ठूला मालबाहक सवारी साधनलाई गौशाला, कान्तिबजार हुँदै हुलाकी सडकमा जोड्ने डाइभर्सन सञ्चालन गरेका छौं,’प्रहरी नायव उपरीक्षक जैसवारले भने ।

उनले जिल्लाबाट सडक निरीक्षणका लागि टोली खटिएको जनाए । ‘सीडीओ साबको नेतृत्वमा निरीक्षण टोली खटिएको छ । तत्कालै केही उपाय लगाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयासमा लागेका छौं,’उनले भने । पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । राजमार्गअन्तर्गत महोत्तरीमा पर्ने अधिकांश पुलहरू जीर्ण अवस्थामा रहेको छ ।अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार