२०८३ बैशाख २४ गते , विहीबार
ब्राउन सुगरसहित दमकका तीन युवक पक्राउ
झापा गाउँपालिकाबाट लागू औषध ब्राउन सुगरसहित दमकका तीन युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो ३:१० बजे झापा गाउँपालिका-१ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा दमक नगरपालिका-१२ बस्ने २६ वर्षीय मनिश थापाले प्रहरीलाई देख्नासाथ कालो प्लास्टिकको पोका भुईँमा फाली भाग्न खोजेका थिए ।
उनीसँगै रहेका दमककै २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कटुवाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लास्टिकको पोका खोली हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।