२०८३ बैशाख २४ गते , विहीबार

जग्गा विवादका कारण पूर्वराज्यमन्त्री रायको हत्या, दुई जना पक्राउ

sajilo news
झापा
२०८१ श्रावण १४ गते , सोमबार
जग्गा विवादका कारण पूर्वराज्यमन्त्री रायको हत्या, दुई जना पक्राउ

पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।   जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार साँझ पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रायका सहयोगी कविलासी नगरपालिका-३ का २५ वर्षीय राम उजैन राय र छिमेकी चन्द्रनगर गाउँपालिका-१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए। 

मलंगवा नगरपालिका-४ का ८१ वर्षीय पूर्वराज्यमन्त्री रायको साउन ७ गते अन्दाजी साढे १२ बजे राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित फार्म हाउसमा हत्या गरिएको थियो। धान रोपायँ गराउन रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउकोको विभिन्न भागमा काटी सुत्ने कोठामा हत्या गरिएको थियो। 

मन्त्री रायको हत्याको मुख्य कारण जग्गा सम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ। मन्त्री रायले बनाएको दुईकोठे फार्म हाउस मेरो जग्गामा हो भनि छिमेकी वीरेन्द्र रायले पाउने पर्ने माग गर्दै आएको थियो। तर, प्रमाण जुटाउनका लागि वीरेन्द्रले रायका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक सिंहले बताएका छन्। 

मन्त्री रायलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई मन्त्री रायको हत्या गरेवापत दुई लाख रुपैयाँ र फार्म समेत बनाई दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ। वीरेन्द्रको उक्साहट र आर्थिक प्रलोभनमा परी राम उजैनले राय एक्लै रहेको बेला हत्या गरेको प्रहरीले दाबी गरेका छन्। 

प्रहरीले रायको हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार फर्सा हत्या गरिएको स्थान भन्दा केही पर बाँसको झाङमा फेला पारेको थियो। हत्या गर्ने समयमा राम उजैनले प्रयोग गरेका हाफ पैन्ट ब्याग भित्र लुकाएको अवस्थामा फेला पारेका छन् भने रगत लागेको  गन्जी टुक्रा टुक्रा पारी भकुण्डो जस्तो बनाई फालेको अवस्थामा फेला पारेको छ। 

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यस अघि प्रहरीले घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलीग्राफी टेस्ट समेत गरेको थियो। राय राप्रपा पार्टीका पूर्व उपाध्यक्ष र हाल केन्द्रीय सदस्य रहेका थिए। 

 

सम्बन्धित समाचार