काँकडभिट्टा नाकाबाट भित्रिने पर्यटकमा सबैभन्दा धेरै भुटानी, बाहिरिए ८३१७ जना
भारतले कडाइ गरेपछि पूर्वी नाका काँकडभिट्टा हुँदै तेस्रो राष्ट्रका पर्यटकहरू खासै नेपाल भित्रिन सकेका छैनन् । भारतपट्टिको रानीगंज चेकपोस्ट इमिग्रेसनमा नेपाल भित्रिन चाहने तेस्रो राष्ट्रका पर्यटकहरूका लागि कडाइ हुने गरेको छ । आर्थिक वर्ष २०८०–०८१ मा काँकडभिट्टा नाका हुँदै तेस्रो राष्ट्रका ४ हजार १४० जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । एक वर्षमा ९ हजार ४१३ जना भित्रिएकोमा ५ हजार २७३ जना बङ्गलादेश अध्ययन गर्न गएका नेपाली विद्यार्थी छन् । सबैभन्दा बढी ३ हजार ९४० जना भुटानी काँकडभिट्टा नाका हुँदै भित्रिएका छन् । जुन ९५.१६ प्रतिशत हो ।
आर्थिक वर्ष २०८०–०८१ मा काँकडभिट्टा नाका हुँदै भुटानका ३९४० , अस्ट्रेलियाका २५ , बंगलादेशका २८ , बेल्जियमका ३ , क्यानडाका १७ , जर्मनीका ४ , मलेसियाका १ , नेदरल्यान्डस्का ३, न्युजिल्यान्डका १, फिलिपिन्सका ३, रोमानियाका १२, सिंगापुरका १ , दक्षिण अफ्रिकाका १, दक्षिण कोरियाका ३, श्रीलंकाका १ , स्वीजरल्यान्डका ४, थाइल्यान्डका १, बेलायतका ११ र अमेरिकाका ४८ जना नेपाल प्रवेश गरेका थिए ।
त्यस्तै काँकडभिट्टा नाका हुँदै ८ हजार ३१७ जना बाहिरिएका छन् । जसमध्ये बङ्गलादेश अध्ययन गर्न जाने ३ हजार ६५३ जना नेपाली विद्यार्थी छन् । बाहिरिने अन्यमा अष्ट्रेलयाका २५ , अष्ट्रियाका १, बंगलादेशका १८ , भुटानका ४ हजार २०० , क्यानडाका २१ , चीनका २, फ्रान्सका १ , जर्मनीका ४ , मलेसियाका १ , नेदरल्यान्डस्का ५ , न्युजिल्यान्डका १ , नाइजेरियाका १ , फिलिपिन्सका १ , रोमानियाका १२ , स्पेनका १ , श्रीलंकाका १ , स्वीजरल्यान्डका ३ , ताइवानका १ , थाइल्यान्डका १ , बेलायतका १० र अमेरिकाका ५३ जना रहेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिने तेस्रो राष्ट्रका पर्यटकहरूको सङ्ख्या थोरै बढेको छ । अघिल्लो आर्थिक वर्ष जम्मा ६ हजार ४१६ जना भित्रिएकोमा त्यसमा ४ हजार ४१८ बङ्गलादेश पढ्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या रहेको थियो । त्यस वर्ष भुटानका १ हजार ८६१जना नेपाल भित्रिएका थिए । बाहिरिनेमा ३ हजार २ नेपाली विद्यार्थीसहित ५ हजार १८९ जना रहेका थिए । रानीगंज चेकपोस्ट इमिग्रेसनले भुटानबाहेकका तेस्रो राष्ट्रका पर्यटकहरूलाई काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेशमा कडाइ गर्ने गरेको बताइएको छ । जसका कारण उनीहरू यो नाकाबाट कम्ती भित्रिने गरेका छन् ।