झापामा माछा मार्ने क्रममा एकजनाको मृत्यु
झापाको शिवसताक्षीमा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार स्थानीय वडा नम्बर ४ को कमल खोलाको होलीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय चुन्दे मुर्मुको मृत्यु भएको हो। उनको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शिवसताक्षी नगरपालिका-४ र गौरीगञ्ज गाउँपालिका-१ को सिमानामा पर्ने कमल खोलाको होलीमा मुर्मुलाई अपरान्ह पौने ४ बजे पानीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेको प्रहरीले जनाएको छ ।
‘छिमेकी साथीहरूसँग उनी कमल खोलाको होलीमा माछा मार्न गएका थिए,’ इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले भने,‘अरू साथीभन्दा केही बेरअघि माछा मार्ने ठाउँमा पुगेका मुर्मु पानीमा डुबेको स्थानीयले देखेपछि हल्लाखल्ला गरेका थिए।’
केही समयपछि मुर्मु डुबेको ठाउँमा पुगेका उनका साथीले तत्काल उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज उपचारका लागि ल्याएका थिए। सिकिस्त अवस्थामा फेला परेका मुर्मुको थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र शिवगंजले रेफर गरेपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो। चिकित्सकले उपचारकै क्रममा ४ः२० मा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुर्मुले यसअघि करेन्ट लगाएर माछा मार्ने गरेका थिए । तर शुक्रबारको घटनामा उनले विद्युतीय करेन्ट प्रयोग नगरेको प्रहरीले जनाएको छ । ‘हामीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्यौ। त्यहाँ विद्युतीय उपकरण लगायतका बन्दोबस्तका सामग्री फेला परेनन्,’ प्रहरी निरीक्षक बुढाथोकीले भने, ‘हामीलाई स्थानीयले मृतक मुर्मु मदिरा सेवन गर्ने व्यक्ति भएको जानकारी दिनुभएको छ। मदिराकै नशामा उनी पानीमा डुबेको हुनसक्ने अनुसन्धानका तर्फबाट हाम्रो र स्थानीय जानकारको अनुमान छ ।’