२०८३ असार ३ गते , बुधबार

बिर्तामोड–भद्रपुर सडक कहिले बन्ने ? स्थानीयले गरे आज पनि सडक बन्द

sajilo news
झापा
२०८१ श्रावण १० गते , विहीबार
बिर्तामोड–भद्रपुर सडक कहिले बन्ने ? स्थानीयले गरे आज पनि सडक बन्द

बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयहरुले बिर्तामोड–८ देउनियाँमा सडक अवरोध यथावत् राखेका छन् । बुधवार बिहान सवा ९ बजेदेखि बिर्तामोड–भद्रपुर सडक खण्डमा बाँस र ढुङ्गा राखेर उनीहरूले सडक अवरुद्ध सुरु गरेका थिए । दिउँसो ४ बजेदेखि प्रहरीले अवरोध हटाएकोमा आज बिहानदेखि स्थानीयहरुले फेरि अवरोध गरी सवारीसाधन चल्न दिएका छैनन् । सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको, धुवाँ धुलोले दैनिक जीवनयापन कष्टकर भएको भन्दै बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा स्थानीयहरुले चक्काजाम गरेका हुन् । सडक निर्माण नभएसम्म चक्काजाम जारी रहने वडाध्यक्ष कार्कीले बताए ।

यसैबीच सडक डिभिजन कार्यालय दमकले राष्ट्रिय राजमार्ग यसरी बन्द हुनु गम्भीर विषय भएको बताएको छ । यसको शीघ्र समाधान गर्न आवश्यक रहेको भन्दै सरोकारवाला पक्षसँग सडक मर्मत तथा कालोपत्रे कार्यको आगामी योजनाको सन्दर्भमा आज छलफल गर्नका लागि प्रतिनिधि पठाइदिन ठेक्का लिने निर्माण कम्पनी काठमाडौँको कन्टेक प्रालिलाई पत्र पठाइएको डिभिजन प्रमुख सुरेश पौडेलले जानकारी दिए । छलफलका लागि आफूहरूलाई पत्र नआएकोले बाटो बन्द यथावत् रहने वडाध्यक्ष पौडेलले बताए ।

चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षा याममा हिलाम्मे सडक कारण जनताले सास्ती झेल्दै आइरहेका छन्। सो सडकअन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोक हुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अझै काम सुरु भएको छैन।

सो सडक निर्माणको ठेक्का काठमाडौँको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको हो। २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो। सो अवधिमा कम्पनीले बिर्तामोडदेखि देउनियाँसम्मको सडक खण्ड पनि निर्माण सम्पन्न गर्न सकेको छैन । दुई पटक म्याद थप गरिसकेका निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलले बताए।

सम्बन्धित समाचार