सौर्य एयरका अध्यक्ष पोखरेलका भान्जा आश्विनको पनि जहाज दुर्घटना परी निधन
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये एक जना सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलका भान्जा आश्विन निरौला रहेको थाहा भएको छ ।
पारिवारिक स्रोतका अनुसार आश्विन निरौला एरोनोटिकल इन्जिनियर थिए । जहाजलाई मर्मतका लागि पोखरा लैजाने क्रममा काठमाडौँबाट उड्ने बित्तिकै आज बिहान ११ बजेर ११ मिनटमा दुर्घटना भएको थियो ।
भद्रपुर निवासी अध्यक्ष पोख्रेलका पाँच जना बहिनीमध्ये जेठी बहिनी कल्पना निरौलाको एक मात्र छोरा थिए इन्जिनियर आश्विन । एरोनोटिकल इन्जिनियरिङको अध्ययन पूरा गरेपछि उनी सौर्य एयरलाइन्समा सुरुदेखि नै कार्यरत थिए ।
हाल एयरलाइन्सका अध्यक्ष पोख्रेल त्रिभुवन विमानस्थलको घटनास्थलमा छन् भने दिवङ्गत इन्जिनियर आश्विन निरौलाका बुवा र आमा अस्ट्रेलियामा छन् । घटनाको खबर थाहा पाउने बित्तिकै उनका बुवा र आमा नेपाल फर्किने क्रममा रहेको जानकारी प्राप्त भएको छ ।