वडा सदस्यले माफी मागेपछि भद्रपुर नगरपालिकाका कर्मचारीले लिए आन्दोलन फिर्ता
वडा सचिवलाई हातपात गर्ने भद्रपुर नगरपालिका ४ का वडा सदस्य अर्जुन बानियाँले माफी मागेपछि भद्रपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
वडा सदस्य बानियाँले सोही वडा कार्यालयका वडा सचिव मानबहादुर मगरमाथि हिजो दिउँसो हातपात गरेका थिए । दिउँसो १ः३० बजे वडा समितिको बैठक सञ्चालन भइरहेको बेला बानियाँले वडा सचिव मगरमाथि हातपात गरेका थिए । इलेक्ट्रिक मोटर बाँड्ने विषयमा विवाद भएपछि वडा सदस्य बानियाँले मगरमाथि मुक्का प्रहार गरेका थिए ।तर, चोट नलागी मगरको चस्मा फुटेको बताइएको छ ।
सो घटनापछि भद्रपुर नगरपालिकाभरिका कर्मचारीहरू आन्दोलित भएका थिए । उनीहरूले घटनाको दोषी बानियाँलाई कारबाही गरी सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यकबाहेक अन्य सबै सेवाहरू बन्द गर्ने घोषणा गरेका थिए । सो घटनाका विषयमा आज बिहान नगरपालिका कार्यालयमा बैठक बोलाइएको थियो । बैठकमा वडा सदस्य बानियाँले वडा सचिव मगरसँग अब आइन्दा त्यस्तो गल्ती नगर्ने भनेर माफी मागेको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले बताए ।