२०८३ बैशाख २४ गते , विहीबार

झापामा लिफ्ट दिने व्यक्तिले चालकलाई नै बेहोस बनाएर स्कुटर लुटेर लगे

sajilo news
झापा
२०८१ श्रावण ८ गते , मंगलबार
झापामा लिफ्ट दिने व्यक्तिले चालकलाई नै बेहोस बनाएर स्कुटर लुटेर लगे

हल्दीबारी । झापाको हल्दीबारीमा घरसम्म पुर्‍याइदिन सहयोग मागेका एक अपरिचित व्यक्तिले स्कुटर चालकलाई नै बेहोस बनाई स्कुटर लुटेर लगेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर ५ का २२ वर्षीय पूजन श्रेष्ठको प्रदेश नं. १–०१–०१५प–३४४८नम्बरको स्कुटर हल्दिवारीको भेलागुडी जङ्गलमा लुटेर लगेका हुन् ।

बुबाको नागरिकताको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय गएका श्रेष्ठसँग ती व्यक्तिको त्यही चिनजान भएको थियो । आफू पनि नागरिकताको प्रतिलिपि बनाउन आएको उनले श्रेष्ठलाई बताएका थिए । अपराह्न ४ बजेतिर आफ्नो घर नजिकै रहेको र घर जाने काम पर्‍यो भनेर ती व्यक्तिले श्रेष्ठसँग लिफ्ट मागेका थिए ।

श्रेष्ठसँग चाबी मागेर आफै स्कुटर कुदाएका उनले भेलागुडी जङ्गलमा आफ्ना दुईजना साथी बोलाएर लछारपछार गर्दै कुटपिट गर्नुका साथै अनुहारमा स्प्रे छर्केर बेहोस बनाएका थिए । त्यसपछि उनीहरूले स्कुटर लुटेको श्रेष्ठकी भाउजू अन्जना भण्डारीले बताइन् ।


घाइते र बेहोस भएका श्रेष्ठ राति पौने २ बजेतिर मात्र घर पुगेको उनले जानकारी दिइन् । आफूहरूले हुलियासहित स्कुटर लुट्नेहरूलाई खोजी गरी कारबाही गर्न प्रहरीलाई उजुरी दिएको अम्बिकाले जानकारी दिएकी छन् ।

सम्बन्धित समाचार