२०८३ असार ३ गते , बुधबार

भुमाफियाको चङ्गुलमा यातायात कार्यालय झापा, सार्न लागिएको भन्दै अख्तियारमा उजुरी

sajilo news
झापा
२०८१ श्रावण ३ गते , विहीबार
भुमाफियाको चङ्गुलमा यातायात कार्यालय झापा, सार्न लागिएको भन्दै अख्तियारमा उजुरी

झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयलाई भुमाफियाहरुको चलखेलमा परेर अपायक स्थानमा सार्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

स्थानीय बद्री खड्काले २०६९ सालमा निःशुल्क उपलब्ध गराएको २ कट्ठा जग्गामा बनेको यातायात कार्यालय साँघुरो भएको र साबिक भन्दा बढी जग्गा दाताले दिने भन्दै गरामनीतिर सार्न लागिएपछि त्यसको विरोध जनाउँदै अख्तियारमा उजुरी परेको हो ।

कोशीका तत्कालीन मुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला मन्त्री शमशेर राई र आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायतले तत्कालीन कार्यालय प्रमुख पदम कट्टेललाई कार्यालय सार्नका लागि कागजात मिलाउन दबाब दिएको र सो दबाब थेग्न नसकी कट्टेलले राजीनामा दिनु परेको उजुरीमा उल्लेख छ ।

कौडीको भाउको जग्गालाई करोडौँको बनाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको भन्दै निवेदकले तत्कालीन मुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला मन्त्री शमशेर राई र आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, यातायात व्यवस्था कार्यालय झापाका निमित्त कार्यालय प्रमुख बाबुराम शर्मा लुइँटेललगायतलाई कारबाहीको माग गरेका छन् । केही भुमाफियाहले बिर्तामोड ७ मा केही कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएर बाँकी जग्गा महँगो मूल्यमा बिक्री गर्नका लागि चलखेल गरी कार्यालय सार्न माथिसम्म लबिङ गरेर पहल गरिएको स्रोतको दाबी छ ।

जग्गा प्राप्ति समितिको संयोजक बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँले राम्रोसँग अध्ययन गरेर मात्र अगाडी बढ्नु पर्ने सुझाव दिएको स्रोतले बतायो ।

सम्बन्धित समाचार