कचनकवलका जनप्रतिनिधिले देखाएनन् चासो, सात दिनदेखि अन्धकार बनेको पिन्डलबारी गाउँमा जब सांसद लिङ्देन पुगे

झापा । भौगोलिक दृष्टिकोणले झापा जिल्लाकै विकट र दुगर्म मानिने कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारी गाउँमा एक सातापछि विद्युत् सेवा सुचारु भएको छ । कचनकवल गाउँपालिका जनप्रतिनिधिले त्यसतर्फ चासो नदेखाएपछि झापा ३ बाट निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको पहलमा बुधबारदेखि सेवा सूचारु भएको हो ।
बिरिङ खोलामा आएको बाढीले तीन वटा विद्युतीय पोल र तारमा क्षति पुराएपछि पिन्डलबारीका बासिन्दा एक साता अन्धकारमा बस्न बाध्य भएका थिए । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले अस्थायी रुपमा १०० केभी भोल्टेजको एउटा ट्रान्सफर्मर राखेर बुधबार दिउँसोदेखि गाउँमा विद्युत् सेवा सुचारु गरेको केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए ।
बिरिङ खोलाको बीचमा रहेको तीन वटा पोल बाढीले ढालेकोले केही दिन सेवा अवरुद्ध भएको बताउँदै केन्द्र प्रमुख बजगाईँले भने, ‘बाढीले ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीको पोल ढालेको हो, खोला बढेको र मानवीय क्षतिलाई मध्यनजर गरी सेवा अवरुद्ध बनाइदिएको थियो ।’
क्षति पुगेका पोलहरू अहिले नै बनाइ सेवा सुचारु गराउने अवस्था थिएन । त्यही भएर खोला वारी अस्थायी रुपमा टान्सर्फमर राखेर तत्काललाई गाउँमा बिजुली पुर्याएको उनले बताए । बर्खायाम सकिएपछि मात्र ढलेका पोलहरू पुनः मर्मत सम्भार गरिने उनको भनाई छ । १४७ घरधुरी रहेको पिन्डलबारी गाउँमा विद्युत् सेवा अवरुद्ध भएको थाहा पाए लगतै सांसद लिङ्देन मंगलबार विद्युत् प्राधिकरणका प्रमुख तथा कर्मचारी लिएर स्थलगत अवलोकनमा पुगेका थिए । अवलोकन पश्चात् वैकल्पिक रुपमा विद्युत् सेवा सुचारुका लागि सांसद लिङ्देनले नै पहल गरेका थिए ।