भद्रपुर नगर सभा सम्पन्न : पाँच जना उत्कृष्ट कर्मचारी सम्मानित
भद्रपुर । भद्रपुर नगरपालिकाले पाँच जना उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरेको छ । नगरपालिकाले नगर सभाको १४ औं अधिवेशनको दोस्रो बैठकको अवसर पारेर उत्कृष्ट कर्मचारीहरू लेखा अधिकृत सुभाष भट्टराई, ५ नम्बर वडा कार्यालयका वडा सचिव कल्पना आचार्य, पूर्वाधार शाखाका प्राविधिक कर्मचारी सुनिल दाहाल, नगर प्रहरीका असई चन्द्र प्रधान र सरसफाइतर्फका कर्मचारी बालकुमार राईलाई जनही सात हजार पाँच नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुने कर्मचारीहरूलाई भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दोसल्ला उडाएर सम्मान गरेका थिए । त्यस्तै तत्कालीन चन्द्रगढी गाविस र हाल १० नम्बर वडा कार्यालयको जग्गा विवादलाई मेलमिलापको माध्यमबाट सहजिकरण गरिदिने देवीबहादुर श्रेष्ठ र बिजलिदेवी कलवारलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको नगर सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । सभामा सामाजिक विकास समितिका संयोजक सीतादेवी ढकाल गुरागाईँ, आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटाल, पूर्वाधार विकास समितिका संयोजक विवेक राजवंशी, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य अर्जुन बानियाँ, संस्थागत विकास तथा सेवा प्रवाह समितिका संयोजक कहरसिंह राजवंशी, विधेयक समितिका संयोजक सन्ध्या हाँडा, न्यायिक समितिका सदस्य मञ्जुदेवी पोखरेल लगायतले चालु आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।