२०८३ असार ३ गते , बुधबार

बिर्तामोडमा वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न

sajilo news
झापा
२०८१ असार २८ गते , शुक्रबार
बिर्तामोडमा वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड । वित्तीय साक्षरता सम्बन्धी एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो । महिलाहरूलाई आत्मनिर्भर, सशक्तीकरण  र उद्यमशीलतासँग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताए । 

सहभागीहरूले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले बचत गर्ने बानीको विकास र आर्थिक रुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशीलताको विषयमा महत्त्वपूर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् ।  

विजय तिम्सिनाले सहजीकरण गरेको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरूले सहभागिता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक सङ्गीता सिवाले तालिम उद्घाटन गरेकी थिइन्। नगरपालिकाले बिहीबार इटहरीका विभिन्न लघु उद्यमीहरूले सञ्चालन गरेका ५ वटा फर्महरूमा अवलोकन भ्रमणसमेत गराएको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिइन् ।

स्थानीय श्रोत साधनको प्रयोग गरी सीप सिकौँ, उद्यमी बनौँ भन्ने मुख्य नाराका साथ उद्यम विकास शाखाले यस आर्थिक वर्षमा सिलाई कटाई, ब्युटी पार्लर, ढाका बुनाई, झोला बनाउने, गुडिया बनाउने, बाख्रा पालन लगायतका दर्जनौँ तालिम प्रदान गर्नुका साथै प्रविधिसमेत हस्तान्तरण गरेको छ ।

सम्बन्धित समाचार