२०८१ श्रावण २ गते , बुधबार

भारतमा सवारी दुर्घटनामा परी ३ नेपालीको मृत्यु

sajilo news
झापा
२०८१ असार २७ गते , विहीबार
भारतमा सवारी दुर्घटनामा परी ३ नेपालीको मृत्यु

बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार गत मंगलवार राति तीन जना नेपाली सवार मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकलमा आगलागी भएको थियो।

मोटरसाइकलमा आगलागी हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका १ खासकुश्मा घर भएका रा ४ प ७६५ नम्बरका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएका खासकुश्माकै अन्य दुई जना राम बहादुर सिंह र कल्पनाको उपचारका क्रममा श्रावस्ती जिल्ला अस्पताल भिन्गामा मृत्यु भएको राजपुर थानाका इन्चार्ज अजय सिंहले बताए।

भारतको बाटो भएर नेपालको भौवा नाकातर्फ जाँदै गरेको बेला घर्तिले चलाएको मोटरसाइकल ट्याक्टरमा ठोक्किएर आगलागी भएको थाना इन्चार्ज सिंहको भनाइ छ।

सो दुर्घटनाबारे भारतीय प्रहरीले जानकारी पठाउँदै मृतकका आफन्तलाई खबर गरिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए। उनले राजपुरस्थित भारतीय प्रहरीले नेपाली प्रहरीलाई सो दुर्घटना बारे जानकारी गराएपछि मृतकका आफन्तलाई खबर गर्न लगाइएको बताए।

सम्बन्धित समाचार