२०८३ असार ३ गते , बुधबार

झापासहित यी ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान

sajilo news
झापा
२०८१ असार २७ गते , विहीबार
झापासहित यी ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान

आज रातिदेखि शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी जारी भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित मधेश, लुम्बिनी र सुदूरपश्चिमका १/२ स्थानमा मुसलधारे वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। 

काठमाडौँ उपत्यका र अन्य २३ जिल्लामा मध्यम जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी ३ दिन, बाढी, पहिरो, डुबान तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै महाशाखाले आवश्यक पूर्वतयारी गर्न आह्वान गरेको छ। 

मनसुनी न्यूनचापीय रेखा आज रातिबाट अझै नेपालतिर सर्ने सम्भावना रहेको र भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून प्रणालीमा विकसित हुने भन्दै विभागले दुवै प्रणालीले गर्दा नेपालमा मनसुन सक्रिय हुने जानकारी दिएको छ।

शनिवार विहानसम्म सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्ला मनसुनी वर्षाको उच्च जोखिममा रहेका छन्। 

मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा,  रौतहट, सर्लाही र महोत्तरी, बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा वर्षाको उच्च जोखिमको सूचीमा छन्।

यस्तै, गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ जिल्लालाई विभागले रेड जोनमा राखेको छ। यी जिल्लामा तत्काल प्रतिकार्य गर्न महाशाखाले सुझाएको छ। 

सम्बन्धित समाचार