अर्जुनधारा नगरपालिकाको बजेट ८५ करोड ५९ लाख
झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड ५९ लाख १० हजार विनियोजन गरेको छ ।नगर सभाको १५ औं अधिवेशनमा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उक्त बजेट पेस गरेकी छिन् । नगरपालिकाले समपूरक कोषका लागि २ करोड ५० लाख, साझेदारी कार्यक्रमका लागि १ करोड ८० लाख र वडा समितिले छनौट गरेका वडा स्तरीय कार्यक्रमहरू सञ्चालनका लागि ९ करोड ९० लाख विनियोजन गरेको छ ।
त्यस्तै, समपूरक कोष, साझेदारी कोष, प्रस्तावनामा आधारित कार्यक्रम, विपद् व्यवस्थापन कोष, सङ्घसंस्था प्रवर्द्धन कार्यक्रम तथा जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालनका लागि २ करोड १५ लाख विनियोजन गरिएको छ ।
नगर सभाले शिक्षा, स्वास्थ्य, आयुर्वेद, सामाजिक विकासका अन्य क्षेत्रहरूमा कार्यक्रम सञ्चालनका लागि ५ करोड ९३ लाख, आर्थिक विकासका क्षेत्रहरू कृषि, पशुपालन तथा पर्यटन क्षेत्रको विकासका लागि लागि २ करोड ५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि १ करोड ५० लाख, सुशासन तथा संस्थागत विकाससम्बन्धी कार्यक्रमका लागि ७० लाख तथा भूमि व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
यसैगरी, नगरपालिकाको आन्तरिक प्रशासनिक खर्च तथा सेवा व्यवस्थापनका लागि १२ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त वार्षिक बजेटका लागि स्रोत व्यवस्थापनतर्फ नेपाल सरकारबाट सशर्त कार्यक्रमबापत ३८ करोड १२ लाख ८० हजार, वित्तीय हस्तान्तरणतर्फ १७ करोड ५ लाख, विशेष अनुदानतर्फ ७० लाख प्राप्त हुने उल्लेख छ ।
यस्तै, समपूरक अनुदानतर्फ १ करोड ४० लाख, राजश्व बाँडफाँडबापत १२ करोड ९५ लाख प्राप्त हुनेछ । त्यस्तै, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण बापत १ करोड ९ लाख १८ हजार, सवारी कर बाँडफाँडबापत १ करोड ६६ लाख ५० हजार, मालपोत रजिस्ट्रेसन बाँडफाँडबापत ४ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी, सशर्त अनुदान २ करोड ३० लाख ६२ हजार, समपूरक अनुदान १ करोड ३० लाख प्राप्त हुनेछ । नगरपालिकाबाट ८ करोड ५० लाख आन्तरिक आय सङ्कलन गरिने लक्ष्य लिइएको छ।